शीर्षकहरू

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । एसियाली विकास बैंकले एसियाली डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

एशियाली विकास बैंक (एडीबी) ले गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहेकोमा यो वर्ष सामान्य बढेर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो । जलविद्युत् उत्पादनमा वृद्धि, गहुँ उत्पादन र सेवा क्षेत्रमा आएको उत्साहले अर्थतन्त्रमा सुधार हुँदै गएको एडीबीले जनाएको छ । कृषि क्षेत्रको उत्पादन बढेको, ब्याजदरमा आएको गिरावटले औद्योगिक लागतमा कमी आएको र उत्पादनमा भएको वृद्धिले उक्त वृद्धिदर हासिल हुने एसियाली विकास बैंकको भनाई छ । 

चालु आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रको वृद्धि भने बढ्ने प्रक्षेपण एडीबीको छ । ‘चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निर्माण क्षेत्रमा ७.७ प्रतिशत कर्जा विस्तार भएको छ । उत्पादनमूलक उद्योगमा कर्जा जाने सम्भावना पनि उच्च छ,’ एडीबीका नेपाल आवासीय मिसनका अर्थशास्त्री मानवरसिंह खड्काले भने । यो क्षेत्रको वृद्धिलाई ऊर्जा क्षेत्रले धेरै नै योगदान गर्ने उनले बताए ।

पर्यटन आगमनमा भएको वृद्धिका कारण सेवा क्षेत्रको वृद्धि पनि सकारात्मक हुने खड्काले बताए । व्यापार तथा पारवहन क्षेत्रले पनि राम्रो योगदान गर्ने छ । केही समय भएको कानूनी परिवर्तनले पनि लगानी बढ्ने तथा सेवा क्षेत्रको वृद्धिमा योगदान गर्ने उनले बताए ।

चालु आर्थिक वर्षमा मूल्यवृद्धि ५.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण एडीबीको छ । आगामी वर्षमा यो ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ । गत असोजमा आएको बाढीपहिरोका कारण आपूर्ति शृङ्खलामा असर पर्दा मुद्रास्फीतिमा त्यसको प्रभाव देखिएको एडिबीले जनाएको छ । 

“अप्रिलको सुरुआतमा घोषणा गरिएका अमेरिकी भन्सार शुल्कहरूको पूर्ण कार्यान्वयन र थप अमेरिकी व्यापार नीति परिवर्तनले आर्थिक वृद्धिदरमा गिरावट ल्याउन सक्ने अनुमान गरिएको छ । व्यापार क्षेत्रमा थप अनिश्चिततता देखिन सक्छ”, प्रतिवेदनमा भनिएको छ

साथै विस्तारमुखी वित्तीय नीतिहरूले मुद्रास्फीति बढाउन सक्ने अनुमान गरिएको छ । मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण आपूर्ति शृङ्खलामा अवरोध, खाद्य र ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी आर्थिक अनिश्चितता युक्रेन-रुसको युद्धबाट सिर्जित समस्यालगायत कारणले जोखिम बढ्ने एडिबीले अनुमान गरेको छ ।

अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत कारण एसिया र प्रशान्त क्षेत्रमा व्यापारिक अनिश्चितताले आर्थिक वृद्धिदर तथा मुद्रास्फीतिमा प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ । 

अमेरिकाले नयाँ भन्सार दर तोकेपछि यसले विश्वभर व्यापारिक अनिश्चितता कायम गरेको एडिबीले जनाएको छ । अमेरिकी भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडिबीले एसिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर ४.९ प्रतिशत र सन् २०२६ मा ४.७ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ । 

त्यस्तै, यस क्षेत्रको मुद्रास्फीति सन् २०२५ मा २.३ र सन् २०२६ मा २.२ प्रतिशतमा घट्ने प्रक्षेपण गरिएको छ । सन् २०२४ मा एसिया क्षेत्रको मुद्रास्फीति २.६ प्रतिशत थियो ।

null