शीर्षकहरू

ट्रम्पको दाबी : ईरानले समृद्ध युरेनियम भण्डार अमेरिका बुझाउन सहमत

ट्रम्पको दाबी : ईरानले समृद्ध युरेनियम भण्डार अमेरिका बुझाउन सहमत

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन्। उनले भनेका छन् कि ईरानले आफ्नो एनरिच्ड युरेनियम भण्डार अमेरिका बुझाउने सहमति जनाएको छ। “हामीसँग सम्झौता हुने राम्रो सम्भावना छ। उनीहरूले परमाणु युरेनियम हामीलाई बुझाउन सहमति जनाएका छन्,” ट्रम्पले पत्रकारहरूसँग भने।

उनले युद्धविराम (सीजफायर) थप्ने आवश्यकता नभएको पनि उल्लेख गरे। यदि इस्लामाबादमा सम्झौता सम्पन्न भएमा आफू पाकिस्तान जाने सम्भावना रहेको बताए। अमेरिका–ईरानबीचको पहिलो चरणको वार्ता २२ घण्टा लामो भए पनि निष्कर्षविहीन रह्यो।

अमेरिकाले १५ शर्तहरू राखेको थियो भने ईरानले आफ्ना १० शर्तहरूमा अडान देखाएको थियो। अब दोस्रो चरणको वार्ता तयारी भइरहेको छ, जसमा सम्झौता हुने सम्भावना बढेको ट्रम्पको दाबी छ। पाकिस्तान मध्यस्थको रूपमा सक्रिय छ।

पाकिस्तानी सेनाप्रमुख आसिम मुनीर तेहरानमा ईरानी नेताहरूसँग भेट गर्दै अमेरिकाको सन्देश बुझाइरहेका छन्। उनले ईरानी संसद अध्यक्ष मोहम्मद बागेर गालिबाफ तथा विदेशमन्त्री अब्बास अराघचीसँग भेट गरेका छन्।

ईरानी सरकारी समाचार एजेन्सीका अनुसार, मुनीरले रिवोल्युशनरी गार्ड्सको मुख्यालयमा पनि भेटवार्ता गरेका छन्। ट्रम्पले यसअघि इजरायल–लेबनानबीच १० दिनको युद्धविराम घोषणा गरेका थिए। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र लेबनानी राष्ट्रपति जोसेफ औनलाई ३० वर्षपछि पहिलो प्रत्यक्ष वार्ताका लागि व्हाइट हाउसमा आमन्त्रण गर्ने घोषणा गरेका छन्।

प्रतिक्रिया