शीर्षकहरू

मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) आज देशभर श्रद्धापूर्वक मनाइँदै

मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) आज देशभर श्रद्धापूर्वक मनाइँदै

काठमाडौं। आज वैशाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ।

यस दिन छोराछोरीले बिहानै उठी स्नान गरी आफ्नी आमालाई सम्मानका साथ राम्रा लुगा लगाइदिने र मीठा तथा तागतिला परिकार खुवाई आशीर्वाद थाप्ने परम्परा छ।

शास्त्रमा आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि ठूली मानिने भएकाले आमाप्रति श्रद्धा, भक्ति र सम्मान प्रकट गर्ने विशेष दिनका रूपमा यस पर्वलाई लिइन्छ।

आमा नभएकाहरूले भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा सिदादान गरी पुरोहितलाई भोजन गराउने चलन छ। यसरी श्राद्ध गर्दा दिवङ्गत आमाको आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

वैदिक मान्यताअनुसार प्रत्येक व्यक्तिले देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्ने उल्लेख छ। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्ति अनुसार आमा र जन्मभूमिको महत्व अत्यन्त उच्च मानिएको छ।

यस अवसरमा मातातीर्थ क्षेत्रमा विशेष मेला लाग्ने गर्दछ। मेलाको सम्पूर्ण तयारी पूरा भएको स्थानीय तहले जनाएको छ।

प्रतिक्रिया