काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीका अनुसार शनिबार रुपन्देहीबाट पक्राउ गरेका हुन ।
सीआईबीका अनुसार उनलाई म्याद थपका लागि बाँके लगिँदै छ । बाँके घर भएका राय २०७६ देखि २०७९सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए । यो बैंक २०६० सालमा खुलेको थियो । रायमाथि ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप छ । बैंकमा भएको अपचलनको अनुसन्धान प्रक्रिया अघि बढेपछि उनी फरार भएका थिए ।
सो बैंकमा अनियमितताका अनेकौँ घटना छन । कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्र वीर रायले आफ्नै कम्पनीलाई १५ करोड रुपैयाँको ऋण प्रवाह गरेका थिए । बाँकेको नेपालगन्जमा कार्यालय रहेको बाँके केमिकल्स नामको कम्पनीलाई कर्णाली विकास बैंकबाट दुई पटक गरी १५ करोड रुपैयाँ ऋण प्रवाह भएका छन ।
कर्णाली विकास बैंकबाट २०७५ असोज ८ गते १२ करोड रुपैयाँ सो कम्पनीलाई ऋण प्रवाह गरिएको छ । सोही कम्पनीलाई पुनः दोस्रो पटक २०७७ असोज २८ गते ३ करोड गरी कुल १५ करोड रुपैयाँ ऋण लगानी गरेको तथ्य फेला परेको हो । रकम अपचलनमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाह समेत संलग्न रहेको बैंकको आन्तरिक छानबिनबाट खुलेको थियो । हाल कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा छ ।
यो पनि पढ्नुहोस