शीर्षकहरू

तरलता व्यवस्थापनमा सकश : नौ महिनामा ३५४ खर्ब निक्षेप सुविधा प्रयोग, आज ४० अर्ब प्रशोचन हुँदै

नौ महिनामा ३५४ खर्बभन्दा बढी निक्षेप सुविधा प्रयोग

तरलता व्यवस्थापनमा सकश : नौ महिनामा ३५४ खर्ब निक्षेप सुविधा प्रयोग, आज ४० अर्ब प्रशोचन हुँदै

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज एकै दिन ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा तान्ने भएको छ।

राष्ट्र बैंकले दिउँसो ३ बजे बोलकबोल मार्फत उक्त रकम प्रशोचन गर्ने जनाएको हो। ५६ दिने अवधिको यो उपकरणको साँवा तथा ब्याज आगामी जेठ २७ गते भुक्तानी गरिनेछ।

राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र यस बोलकबोलमा सहभागी हुन पाउनेछन्। आवेदन दिने संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् भने रकम ५ करोडको गुणकमा हुनुपर्नेछ।

बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने बैंकहरूले बहु-ब्याजदरमा पनि प्रस्ताव पेस गर्न सक्नेछन्। राष्ट्र बैंकले सबैभन्दा न्यून ब्याजदरलाई प्राथमिकता दिँदै निक्षेप स्वीकार गर्नेछ।

पछिल्लो समय कर्जाको माग सुस्त हुँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अत्यधिक थुप्रिएको छ। यही कारण बैंकहरूले अतिरिक्त तरलता व्यवस्थापनका लागि नियमित रूपमा राष्ट्र बैंकका उपकरण प्रयोग गर्दै आएका छन्।

नौ महिनामा ३५४ खर्बभन्दा बढी निक्षेप सुविधा प्रयोग

बैंक तथा वित्तीय संस्थामा बढ्दो अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको नौ महिनामा ठूलो परिमाणमा निक्षेप सुविधा प्रयोग गरेको छ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न उपकरणमार्फत कुल ३५४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ बराबरको निक्षेप सुविधा प्रयोग गरेका छन्। यो प्रक्रिया ‘राख्ने र झिक्ने’ मोडलमा १७५ पटक सञ्चालन भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

यस अवधिमा बैंकहरूले निक्षेप संकलन तथा स्थायी निक्षेप सुविधा मार्फत ठूलो परिमाणमा रकम केन्द्रीय बैंकमा राखेका थिए। सोमध्ये ३४५ खर्ब ४६ अर्ब १५ करोड रुपैयाँ फिर्ता लगिसकिएको छ भने हाल राष्ट्र बैंकमा बैंकहरूको ८ खर्ब ६३ अर्ब १० करोड रुपैयाँ निक्षेप मौज्दात छ।

समीक्षा अवधिमा बैंकहरूले स्थायी निक्षेप सुविधा अन्तर्गत मात्र ३२९ खर्ब ६० करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका छन्। १०४ पटक सञ्चालन गरिएको यस सुविधामार्फत राखिएको सम्पूर्ण रकम बैंकहरूले फिर्ता लिइसकेका छन्।

यस सुविधामा बैंकहरूले तोकिएको मापदण्डअनुसार आवेदन दिन सक्ने र राष्ट्र बैंकले प्रस्ताव अस्वीकार गर्न नपाउने व्यवस्था छ। यसमा ब्याजदर करिडोरको तल्लो सीमा अर्थात् २.७५ प्रतिशत ब्याज प्रदान गरिन्छ।

निक्षेप संकलन उपकरणमार्फत अर्बौं प्रशोचन

त्यस्तै, निक्षेप संकलन उपकरणमार्फत मात्र २५ खर्ब ८ अर्ब ६५ करोड रुपैयाँ तरलता केन्द्रीय बैंकमा राखिएको छ। राष्ट्र बैंकले ७१ पटक बोलकबोलमार्फत ३० खर्ब २० अर्ब रुपैयाँ आह्वान गरेकोमा बैंकहरूले सोमध्ये ठूलो हिस्सा राखेका हुन्।

समीक्षा अवधिमा राष्ट्र बैंकले ऋणपत्र बिक्रीमार्फत करिब २ खर्ब रुपैयाँ बजारबाट तानेको छ। पुस महिनामा ९ पटक गरी जारी गरिएको उक्त ऋणपत्र बैंकहरूले पूर्ण रूपमा खरिद गरेका हुन्, जसको अवधि एक वर्ष रहेको छ।

हाल बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप करिब ७८ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५८ खर्ब ६४ अर्ब रुपैयाँमा सीमित छ। यससँगै औसत कर्जा–निक्षेप अनुपात ७४.०३ प्रतिशतमा झरेको छ।

नियामकीय व्यवस्थाअनुसार बैंकहरूले ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने भए पनि करिब १२ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको थप कर्जा विस्तारको सम्भावना रहे पनि कमजोर मागका कारण बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ।

प्रतिक्रिया