काठमाडौं । नयाँ वर्ष २०८३ लाई नेपाली शेयर बजारले हरियो झण्डासहित स्वागत गरेको छ। वर्षको पहिलो कारोबार दिनमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक वृद्धि भएर बन्द भएको छ।
नेप्से परिसूचक आज ३३.२७ अंकले बढ्दै १.१७ प्रतिशतको वृद्धिसहित २८६६.८७ विन्दुमा पुगेको छ।
आजको कारोबारमा बजारमा उत्साह देखिएको छ। कुल १० अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने २ करोड ६४ लाख ३८ हजार ६२१ कित्ता शेयर किनबेच भएको छ। गत सोमबार ८ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार उल्लेख्य वृद्धि देखिएको हो।
बजारमा २२१ कम्पनीको शेयर मूल्य बढ्दा ४५ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।
६ कम्पनीमा सकारात्मक सर्किट
बुधबार ६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तीमध्ये रिडी लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट इन्डस्ट्रीज र सुपर खुदी हाइड्रोपावर रहेका छन्।
त्यस्तै शिखर पावर डेभलपमेन्टको शेयर करिब १० प्रतिशत, सोलु हाइड्रोपावरको साढे ८ प्रतिशतभन्दा बढी र रिलायन्स स्पिनिङ मिल्सको साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको ५८ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि नेशनल हाइड्रोपावरको ५७ करोड रुपैयाँभन्दा बढी र रिलायन्स स्पिनिङ मिल्सको करिब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
सबै उपसमूह हरियो
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। होटल तथा पर्यटन उपसमूह सर्वाधिक ३.१६ प्रतिशतले बढेको छ। जलविद्युत र व्यापार उपसमूह २ प्रतिशतभन्दा बढीले बढेका छन् भने बैंकिङ, विकास बैंक र वित्त उपसमूह १ प्रतिशतभन्दा बढीले वृद्धि गरेका छन्।
बजारमा सबै उपसमूह हरियो रहँदा समग्रमा सकारात्मक कारोबार प्रवृत्ति देखिएको छ। नयाँ वर्षको सुरुवातमै बजार सकारात्मक रहेकाले लगानीकर्तामा उत्साह देखिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया