शीर्षकहरू

ट्रम्प-पावेल टकराव चर्किँदै: फेड नेतृत्वमै अनिश्चितता, विश्व बजारमा असर पर्ने संकेत

ट्रम्प-पावेल टकराव चर्किँदै: फेड नेतृत्वमै अनिश्चितता, विश्व बजारमा असर पर्ने संकेत

काठमाडौं। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र  जेरोम पावेल बीचको टकराव थप चर्किएको छ। ट्रम्पले फेडरल रिजर्भका प्रमुख पावेललाई पदबाट हटाउने चेतावनी दिँदै नयाँ नेतृत्व ल्याउने प्रयास तीव्र बनाएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फाइनान्सियल टाइम्सका अनुसार ट्रम्पले नयाँ प्रमुखका रूपमा प्रस्तावित केभिन वार्श लाई समयमै अनुमोदन गर्नुपर्ने दबाब दिएका छन्। तर उनको नियुक्ति अमेरिकी सिनेटबाट स्वीकृत हुनुपर्ने भएकाले प्रक्रियामा ढिलाइ हुने संकेत देखिएको छ।

राष्ट्रपति ट्रम्पले मे १५ अघि वार्शको नियुक्ति स्वीकृत नभए पावेललाई पदबाट हटाउने प्रयास गर्ने चेतावनी दिएका छन्। पावेल सन् २०१८ फेब्रुअरी ५ देखि फेडरल रिजर्भका १६औँ प्रमुखका रूपमा कार्यरत छन् र उनको दोस्रो कार्यकाल २०२६ मे १५ मा सकिँदैछ।

यद्यपि, पावेलले आफू कानुनी रूपमा पदमा रहने दाबी गरेका छन्। उनका अनुसार नयाँ प्रमुख नियुक्त नभएसम्म उनी कार्यवाहक रूपमा जिम्मेवारी सम्हाल्न सक्छन्। अमेरिकी कानुनअनुसार पनि नयाँ नेतृत्व नआएसम्म वर्तमान प्रमुखले काम जारी राख्न पाउने व्यवस्था छ।

ट्रम्पले ब्याजदर घटाउन नमानेको भन्दै पावेलमाथि पटकपटक आलोचना गर्दै आएका छन्। विडम्बना के छ भने पावेललाई सन् २०१७ मा ट्रम्प आफैंले नियुक्त गरेका थिए।

यता, केही ट्रम्प पक्षीय नेताहरूले राष्ट्रपतिले अन्तरिम रूपमा नयाँ प्रमुख नियुक्त गर्न सक्ने तर्क अघि सारेका छन्, जसले कानुनी विवाद झन् बढ्ने देखिएको छ। फेडको मुख्यालय मर्मतसम्बन्धी करिब २.५ अर्ब डलरको प्रकरणमा भइरहेको अनुसन्धान फिर्ता नलिने अडानले पनि दुई पक्षबीचको तनाव थप बढाएको छ।

वार्शको नियुक्ति प्रक्रिया पनि सहज देखिँदैन। रिपब्लिकन नेताहरूमै केन्द्रीय बैंकको स्वतन्त्रतामाथि असर पर्ने भन्दै असन्तुष्टि देखिएको छ, जसका कारण सिनेटबाट आवश्यक समर्थन जुटाउन कठिन हुने अनुमान गरिएको छ।

विश्लेषकहरूका अनुसार यो विवादले फेडरल रिजर्भको स्वायत्ततामाथि प्रश्न उठाउने मात्र होइन, विश्वकै सबैभन्दा प्रभावशाली केन्द्रीय बैंकको विश्वसनीयतामै असर पार्न सक्छ। यसको प्रभाव अमेरिकी अर्थतन्त्रसँगै विश्व बजारमा पनि पर्ने संकेत देखिएको छ।

प्रतिक्रिया