काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्सका उच्च व्यवस्थापकहरुलाई स्पष्टीकरण सोधेको छ । सम्पत्ति शुद्धीकरण विभागको प्रेसर आएपछि प्राधिकरणले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित ४ जना उच्च व्यवस्थापक र केही सञ्चालकलाई स्पष्टीकरण सोधेको हो ।
प्राधिकरणको नियमन विभागले बुधबार कम्पनीका उच्च व्यवस्थापिकामध्ये सीईओ उपासना पौडेल, कार्यकारी निर्देशक मनिश कुमार, शिशिर गैर र सन्तोष केसीलाई स्पष्टीकरण सोध्दै पत्र पठाएको थियो । उक्त पत्रमा यहाँहरूलाई किन निलम्बन नगर्ने भनेर सोधिएको छ ।
कम्पनीका प्रमोटर दीपक भट्ट हाल सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा छन् । उनले हिमालयन रिबाट २ अर्ब ७३ करोड रुपैयाँ आफ्नो नाममा रकम रकमान्तर गरेको आरोप छ । प्रमोटरले यसो गर्दा कम्पनीका व्यवस्थापकले किन हस्तक्षेप नगरेको भन्ने बारेमा सम्पत्ति शुद्धीकरण विभागले चासो देखाएको थियो ।
सोही आधारमा विभागले प्राधिकरणलाई प्रेसर दिँदै आएको थियो । विभागले प्राधिकरणलाई दिपक भट्टको केसमा अनुसन्धानका लागि सघाउन भन्दै पत्र पनि पठाएको थियो । सोही क्रममा प्राधिकरणले कम्पनीका व्यवस्थापक र सञ्चालकलाई निलम्बन गर्ने आशयले पत्र काटेको हो। प्राधिकरणको स्रोतका अनुसार हालसम्म उक्त व्यवस्थापकलाई स्पष्टीकरण मात्रै सोधिएको हो । ७ दिनपछि कस्तो जवाफ आउँछ सोही अनुसार कारबाही हुने स्रोतको भनाई छ।
आर्थिक न्यूजसँग कुरागर्दै उनले भने, 'हामीले अहिले स्पष्टीकरण मात्रै सोधेका हौँ । ७ दिनभित्र उहाँहरूले के जवाफ दिनुहुन्छ सोही अनुसार हामी अघि बढ्छौँ ।’
यता, अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागले कम्पनीबाट आवश्यक सबै डकुमेन्ट लगिसकेको छ । यसरी विभागले नै कम्पनीमा छापा हानेर आवश्यक कागजात नियन्त्रणमा लिइसकेको अवस्थामा फेरी कर्मचारीहरूलाई निलम्बन गर्ने उद्देश्यले पत्र पठाएको प्रति कम्पनीका कर्मचारीहरू सशंकित भएका छन् । हिमालयन रिको उच्च व्यवस्थापक नै फेर्न लागेको शंकाले कम्पनीका कर्मचारी सशंकित छन् ।
आर्थिकन्यूज
प्रतिक्रिया