काठमाडौं । अमेरिका र इरानबीच चलिरहेको तनाव कम गर्ने र युद्धविरामलाई दीर्घकालीन शान्तिमा रूपान्तरण गर्ने प्रयासस्वरूप पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ कतार पुगेका छन् ।
पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयका अनुसार सरिफ बुधबार साउदी अरबका उच्च अधिकारीहरूसँग भेटवार्ता गरी क्षेत्रीय शान्ति तथा स्थायित्वका विषयमा छलफलपछि कतार पुगेका हुन्। उनले दोहामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ।
भेटवार्तामा मध्यपूर्वको पछिल्लो सुरक्षा अवस्था, अमेरिका–इरानबीचको तनाव र युद्धविरामलाई मजबुत बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यसअघि इस्लामावादमा अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच भएको उच्चस्तरीय वार्ताबाट ठोस सहमति भने जुट्न सकेको थिएन। अप्रिल ७ देखि लागू भएको दुई साताको युद्धविरामपछि स्थायी शान्ति प्रक्रियाबारे प्रयास जारी रहे पनि तत्काल कुनै निष्कर्ष ननिस्किएको बताइएको छ।
इरान–अमेरिका तनावका कारण उत्पन्न परिस्थितिले कतारको ऊर्जा क्षेत्रमा समेत असर पारेको थियो। प्रारम्भिक चरणमा कतारको ऊर्जा पूर्वाधारमा आक्रमण भएपछि केही समय तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उत्पादन प्रभावित भएको थियो।
कतार एसियाली मुलुकहरू, विशेषगरी पाकिस्तानका लागि एलएनजीको प्रमुख आपूर्तिकर्ता हो। त्यसैले क्षेत्रीय स्थायित्व र ऊर्जा सुरक्षाका लागि पनि हालको कूटनीतिक प्रयासलाई महत्वपूर्ण मानिएको छ। -एजेन्सीको सहयोगमा
आर्थिकन्यूज
प्रतिक्रिया