शीर्षकहरू

१० करोड बढी अवैध सम्पत्ति काण्ड : पूर्व विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१० करोड बढी अवैध सम्पत्ति काण्ड : पूर्व विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइ काजी तिवारीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवामा रहँदा पदको दुरुपयोग गरी अवैध रूपमा सम्पत्ति आर्जन गरेको निष्कर्षसहित तिवारीविरुद्ध आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार तिवारीले २०४४ साल जेठ १९ गतेदेखि २०७८ साल वैशाख ९ गतेसम्म सार्वजनिक पदमा रहँदाको अवधिलाई अनुसन्धानको आधार बनाइएको थियो। सो अवधिमा उनले विभिन्न स्रोतबाट १४ करोड ५१ लाख ९१ हजार ३५६ रुपैयाँ बराबरको वैध आम्दानी गरेको देखिएको छ।

तर सोही अवधिमा घरजग्गा खरिद, निर्माण, कम्पनी तथा सहकारीमा लगानी, बैंक कारोबार, बीमा, सामाजिक तथा व्यक्तिगत खर्चलगायत शीर्षकमा कुल २५ करोड ६ लाख ८७ हजार २२७ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ।

यसरी आम्दानीभन्दा खर्च तथा लगानी बढी देखिएपछि १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ स्रोत नखुलेको सम्पत्ति देखिएको आयोगले जनाएको छ। उक्त सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरिएको ठहर गरिएको छ।

अनुसन्धानका क्रममा तिवारीले आर्जन गरेको सम्पत्ति पत्नी मीना देवी तिवारी र छोरी मीरा तिवारीको नाममा समेत राखिएको पाइएको आयोगले जनाएको छ।

आयोगले तिवारी, उनकी पत्नी र छोरीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रतिक्रिया