शीर्षकहरू

विश्व सम्पदा दिवसः ९२० क्षतिग्रस्तमध्ये अझै ३१० सम्पदा पुनर्निर्माण हुन बाँकी

रामजानकीदेखि अजयमेरुकोटसम्मलाई विश्व सम्पदामा लैजाने प्रयास : सन्दीप खनाल, प्रमुख पुरातत्व अधिकृत (प्रवक्ता) पुरातत्व विभाग

विश्व सम्पदा दिवसः ९२० क्षतिग्रस्तमध्ये अझै ३१० सम्पदा पुनर्निर्माण हुन बाँकी

काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो ।

यस वर्ष विश्व सम्पदा दिवसको नारा ‘इमर्जेन्सी रेस्पोन्स फर अ लिभङ हेरिटेज इन द कन्टेक्स्ट अफ डिजास्टर एण्ड कन्फ्लिक्ट’ भन्ने छ । पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत (प्रवक्ता) सन्दीप खनालले विश्व सम्पदा दिवसको सन्दर्भमा नेपालमा भूकम्पपछिको पुनर्निर्माण कार्य निरन्तर जारी रहेको बताए ।

उनले प्रारम्भिक अध्ययनमा ९२० वटा सम्पदा क्षतिग्रस्त भएको देखिएको थियो भने, पछि २१५ वटा गुम्बा थपिएर हालसम्म ८१५ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको बताए । तर अझै करिब ३१० वटा पुनर्निर्माण गर्न बाँकी छ । 

उनले भने, ‘भूकम्प पछाडि करिब करिब सुरुमा अध्ययन गर्दा ९२० वटा सम्पदा क्षतिग्रस्त भएको भन्ने प्रारम्भिक डेटा आएको थियो । त्यसमा पछि गएर २१५ वटा गुम्बा पनि थपिए र त्यसमध्येबाट अहिलेसम्म सम्पन्न गरेको ८१५ वटा हो । तर अझैपनि ३१० वटा सम्पदा पुनःनिर्माण गर्न बाँकी देखिन्छ।’

खनालले बजेट, दक्ष जनशक्ति अभाव, निर्माण सामग्रीको समयमै आपूर्ति नहुनु तथा केही मुद्दा अदालतमा विचाराधीन रहनुजस्ता कारणले काममा ढिलाइ भएको बताए । उनले हालको सार्वजनिक खरिद प्रक्रिया पनि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सबैभन्दा कम लागत प्रस्ताव गर्ने ठेकेदारलाई काम दिनुपर्ने बाध्यताले सम्पदाको गुणस्तरमा असर परेको बताए । 

null‘पूरातात्व विभागले सहि समयमा काम सम्पन्न गर्नेगरि अगाडि बढाइरहेको छ । मुख्य समस्या खरिद प्रक्रिया नै हो । एउटा ठुलो चुनौती नै हो । किनभने खरिद प्रक्रियाको हालको व्यवस्था सबैभन्दा लोएस्ट बिडलाई नै दिनुपर्ने अवस्था छ । तर त्यो कहिलेकाहीं सम्पदा जिर्णोद्धारका हकमा त्यति प्रभावकारी देखिँदैन,’ उनले भने ।

विभागले सम्भावित विश्व सम्पदा सूचीमा रहेका १५ स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गर्दै यी क्षेत्रहरूको संरक्षणमा जोड दिइएको छ ।

यसैबीच, जनकपुरस्थित रामजानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास पनि अगाडि बढाइएको छ । त्यसका लागि आवश्यक प्रक्रिया र सरोकारवालासँग छलफल भइरहेको खनालले जानकारी दिए । साथै, दार्चुलाको उकु क्षेत्रमा रहेका पुरातात्विक अवशेष र डडेलधुराको अजयमेरुकोटलाई सम्भावित सूचीमा राख्न पहल भइरहेको छ ।

उनले भने, ‘सम्भावित विश्व सम्पदा सुचीमा रहेका १५ वटा ठाउँहरु छन् । जसमा जनकपुरस्थित रामजानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास पनि अगाडि बढाइएको छ । यसलाई अब संरक्षित स्मारक क्षेत्रको लागि घोषणा गर्नको लागि सम्बन्धित सरोकारवालाहरुसँग निकायसँग छलफल गरिरहेका छौँ र आशा गरांै त्यो छिट्टै नै घोषणा गर्न सक्छौं । त्यो बाहेक अहिले दार्चुलाको उकुमा रहेको पुरातात्विक भगनावशेष र डडेलधुरामा रहेको अजयमेरुकोटलाई विश्व सम्पदा सूचीको सम्भावित सूचीमा राख्नको लागि काम गरिरहेका छौँ ।’

खनालले नेपालका सम्पदाहरू ‘जीवित सम्पदा’ भएको भन्दै, जहाँ नियमित रूपमा पूजा–आजा गरिने गरेको समेत बताए । स्थानीय समूदायको गहिरो भावनात्मक सम्बन्ध समेत जोडिएको बताउँदै भूकम्पले चुनौतीसँगै संरक्षणका नयाँ सिकाइ र अवसर पनि दिएको उनले बताए ।

काठमाडौँ उपत्यकाभित्र रहेका सात विश्व सम्पदा क्षेत्रमा व्यवस्थापन सुदृढ गर्न विभाग, स्थानीय तह र अन्य निकायबीच समन्वय बढाइएको छ । सम्पदाको सूचीकरणलाई अद्यावधिक गर्दै डिजिटल प्रणालीमार्फत सार्वजनिक पहुँचमा ल्याउने काम पनि भइरहेको छ ।

उनले भने, ‘अहिले काठमाडौँ उपत्यकामा विशेषगरि विश्व सम्पदा क्षेत्रका तीनवटा दरबारहरु बौद्ध र हिन्दु मन्दिरहरु गरेर जम्मा सातवटा विश्व सम्पदा छन् । समग्र काठमाडौँ उपत्यका विश्व सम्पदाभित्र परेका सातवटा क्षेत्रहरु हुन् । यसमा हामीले विभिन्न समूह वा उपसमूह गठन गरेका छौं । आन्तरिक रुपमा त्यसको म्यानेजमेन्टका लागि र पुरातत्व विभाग, नगरपालिकाहरु मिलेर समस्या समाधान गर्नको लागि छलफल गरिरहेका छौं ।’

त्यसैगरी, सम्पदा क्षेत्रमा विकास निर्माण गर्दा ‘हेरिटेज इम्प्याक्ट एसेसमेन्ट’ (एचआईए) अनिवार्य रूपमा लागू गर्नुपर्ने व्यवस्था गरिएको छ । सहरीकरणका कारण सम्पदामा परेको दबाबलाई ध्यानमा राख्दै यस्तो व्यवस्था प्रभावकारी हुने विश्वास विभागले लिएको छ ।

अवैध रूपमा विदेश पुगेका सम्पदा फिर्ता ल्याउनु पनि ठूलो चुनौती बनेको छ । आवश्यक दस्तावेजको अभावका कारण समस्या भएपनि विभागले ती सम्पदाहरू फिर्ता ल्याउने प्रयास जारी राखेको जनाएको छ ।

उनले भने, ‘अवैध रुपमा विदेश पुगेका जतिपनि सम्पदाहरु छन् –भगवानका मुर्तिहरु छन् त्यो फिर्ता ल्याउनको लागि ठूलो चुनौती छ । हामीले आफ्नो दस्तावेजहरु तयार गर्न नसक्दा त्यस्ता सामग्रीहरु फिर्ता ल्याउन कठिनाइ भइरहेको छ । यस्ता सामग्रीहरु फिर्ता ल्याउने प्रयास गरिरहेछौं ।’

सम्पदा संरक्षणमा युनेस्कोसँग सहकार्य गर्दै प्राविधिक सहयोग, तालिम तथा क्षमता विकासका कार्यक्रमहरू सञ्चालन भइरहेको विभागले जनाएको छ । उनले भने, ‘युनेस्कोसँग मिलेर र यो कार्यक्रम निरन्तर भइरहेको छ ।’

प्रतिक्रिया