एजेन्सी । अमेरिकाले फारसको खाडीमा होर्मुज जलडमरूमध्यमार्फत ईरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गरेपछि ईरान आक्रोशित बनेको छ। ईरानी सेनाको सेन्ट्रल कमाण्ड सेन्टरका प्रमुख अली अब्दुल्लाहीले चेतावनी दिँदै भनेका छन्, “अमेरिकी नाकाबन्दीले ईरानी व्यापारी जहाज र तेल ट्याङ्करलाई असुरक्षित बनाएको छ। यो घोषित युद्धविरामको उल्लङ्घन हो।”
यदि अमेरिकी नौसेनाले नाकाबन्दी जारी राखे भने ईरानले रातो सागर, फारसको खाडी र ओमान खाडीमार्फत हुने विश्वव्यापी व्यापार पूर्ण रूपमा रोक्ने धम्की दिएको छ। ईरानी सेनाले आफ्नो राष्ट्रिय हित र सार्वभौमिकताको रक्षा गर्न “कुनै पनि हदसम्म जाने” चेतावनी दिएको छ।
शान्ति वार्ता असफल भएपछि अमेरिकाले ईरानको आर्थिक कमर तोड्ने उद्देश्यले नाकाबन्दी लागू गरेको हो। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार, यस अभियानमा १० हजारभन्दा बढी नाविक, मरीन र एयरफोर्सका जवान परिचालन गरिएको छ। अमेरिकी पक्षले दाबी गरेको छ कि नाकाबन्दी लागू भएको ३६ घण्टाभित्रै ईरानको व्यापार पूर्ण रूपमा ठप्प भएको छ।
ईरानी सरकारी टेलिभिजनले नाकाबन्दीलाई “अत्यधिक माग र आक्रामक कदम” भन्दै विरोध जनाएको छ। ईरानका रिभोल्युशनरी गार्ड्सले पहिले नै चेतावनी दिएका थिए । होर्मुज जलमार्गमा उनीहरूको पूर्ण नियन्त्रण छ र चुनौती दिने जो कोहीलाई “घातक भँवर”मा फसाइने बताएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया