शीर्षकहरू

ललितपुर महानगरलाई ११ थान फोटोन इभी हस्तान्तरण

ललितपुर महानगरलाई ११ थान फोटोन इभी हस्तान्तरण

काठमाडौं । नेपालमा फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धिले देशको दिगो शहरी पूर्वाधारतर्फको यात्रामा महत्वपूर्ण उपलब्धि हासिल गर्दै कस्टमाइज गरिएका फोटोन इभी इलेक्ट्रिक वेस्ट कलेक्सन भेहिकलका ११ युनिटहरू ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ। नेपालमा शहरी फोहोर व्यवस्थापनका लागि विद्युतीय गाडी प्रयोग गरिएको पहिलो यो पटक हो। 

 ललितपुर महानगरपालिकाका लागि उपलब्ध गराइएका इभी गाडीहरू बजारमा सजिलै पाइने सामान्य गाडीहरू होइनन्। यी प्रत्येक गाडी शहरमा फोहोर संकलन गर्ने प्रयोजनका लागि विशेष रूपमा तयार गरिएका छन्। फोटोन इभीको प्रभाव दैनिक कार्य सञ्चालनमै देखिन थालेको कम्पनीले जनाएको छ।

ललितपुर महानगरपालिकाले फोहोर संकलन टोलीलाई थप प्रभावकारी बनाउँदै तीनजनाबाट दुईजनाको दक्ष टोलीमा घटाउन सफल भएको कम्पनीको दावी छ ।  जुन यस गाडीको सहज र उपयोगी डिजाइनको प्रत्यक्ष नतिजा हो। साथै, यसले लैङ्गिक समावेशी रोजगारीलाई प्रोत्साहन गर्दै फोहोर व्यवस्थापनको क्षेत्रमा महिलाहरूका लागि अर्थपूर्ण अवसरहरू सिर्जना गरेको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने, ‘हाम्रो सहर एउटा सरल नियममा चल्छ, यहाँ प्रदुषण एकदम निषेध छ। यस कारण हामी फोहोर सङ्कलनका लागि पेट्रोल, डिजेल प्रयोग नहुने विद्युतीय गाडी खोजिरहेका थियौँ। यस्तो ईभी पाउन सकिएला त ? हाम्रो सबैभन्दा ठूलो चिन्ताको विषय यहि थियो। र, फोटोनले हाम्रो त्यो चिन्ताको बलियो समाधान दिएको छ। साँच्चै भन्नुपर्दा, हामी अत्यन्तै खुसी छौँ।’

एमएडब्लू वृद्धी कमर्शियल भेहिकल प्रालिका सीईओ अनिल बरालले भने, ‘पहिलोपटक ईभीमा आधारित फोहोर व्यवस्थापनको अवधारणा सुन्दा हामी प्रभावित भएका थियौँ। र, आज यहि कुरा व्यवहारमा देख्न पाउँदा अत्यन्त खुशी लागेको छ। नेपालकै सबैभन्दा सफा सहरको रूपमा पहिचान बनाएको ललितपुर महानगरपालिकालाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित छौँ, र हामीलाई विश्वास गर्नु भएकोमा वहाँहरूलाई हार्दिक आभार व्यक्त गर्दछौँ। फोटोनका लागि यो केवल सुरुवात मात्र हो। उन्नत विद्युतीय सवारीसाधन र देशभर विस्तार हुँदै गएको ईभी चार्जिङ पूर्वाधारहरू मार्फत् स्वच्छ र प्रदुषणमुक्त नेपाल निर्माणमा योगदान गर्न हामी सधैं प्रतिबद्ध छौँ।’

एमएडब्लू वृद्धिको देशभर १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू र १७१ भन्दा बढी CCS2 DC फास्ट चार्जिङ स्टेसनहरूको सञ्जाल रहेको छ। योसँगै फोटोनको ईभी इकोसिस्टम नगरपालिका तथा स्थानीय तहमा ठूलो स्तरमा सञ्चालन गर्न पूर्ण रूपमा सक्षम छ। ललितपुरमा सुरु भएको यो पहलले इलेक्ट्रिक कमर्सियल ईभी केवल भविष्यको सपना नभई, आजै प्रयोग गर्न सकिने व्यवहारिक उपाय भएको सशक्त उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया