काठमाडौं। नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) को समन्वयमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम काठमाडौंमा सम्पन्न भएको छ।
विश्वव्यापी अटोमोबाइल ब्रान्ड टोयोटाका लागि नेपालस्थित आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिको प्राविधिक सहयोगमा नाइमाको केन्द्रीय कार्यालयमा तालिम आयोजना गरिएको हो।
तालिममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका डिप्लोमा तह पाँचौं सेमेस्टरका विद्यार्थीहरू तथा ट्राफिक चालकसहित २५ भन्दा बढीको सहभागिता रहेको थियो। सहभागीहरूलाई हाइब्रिड सवारीसाधनको संरचना, सञ्चालन प्रणाली, सुरक्षा मापदण्ड र मर्मतसम्भारसम्बन्धी सैद्धान्तिक तथा प्रायोगिक ज्ञान प्रदान गरिएको नाइमाले जनाएको छ।
यसअघि सहभागीहरूले गत चैतमा लक्ष्मी हुन्डाईद्वारा आयोजित विद्युतिय सवारीसाधनसम्बन्धी तीन दिने तालिममा समेत सहभागिता जनाएका थिए। साथै, नाइमा मोबिलिटी संवाद कार्यक्रममा सहभागी भई नीतिगत तथा प्राविधिक विषयमा समेत जानकारी लिएका थिए। नाइमाका अनुसार विद्युतियदेखि हाइब्रिड प्रविधिसम्मको ज्ञानलाई चरणबद्ध रूपमा जोड्दै सहभागीहरूको समग्र प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
कार्यक्रममा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले यस्ता तालिमले प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीहरूको सीप विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। माग र उपलब्ध स्रोतका आधारमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए।
उद्घाटन सत्रमा सीटीइभिटीका उपनिर्देशक खुशीराम अधिकारीले हाइब्रिड सवारीसाधनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्ने तयारी भइरहेको जानकारी दिए। नेपालको भौगोलिक अवस्थाअनुसार यस्ता सवारीसाधनको प्रयोग बढ्दो सान्दर्भिक रहेको उनले उल्लेख गरे।
बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका उपप्राचार्य प्रदीप न्यौपानेले अटो उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए। उनले हालै सम्पन्न विद्युतिय सवारीसाधनसम्बन्धी तालिमले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान हासिल गर्न मद्दत पुगेको बताए।
समापन सत्रमा वैद्यज अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेजका निर्देशक सूर्यांश वैद्यले यस्ता तालिमले सहभागीहरूको पेशागत विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। उनले हाइब्रिड सवारीसाधनलाई उन्नत प्रविधिका रूपमा उल्लेख गर्दै यस क्षेत्रमा थप प्राविधिक ज्ञान र सीप आवश्यक रहेको बताए।
तालिम शृङ्खलाअन्तर्गत हाइब्रिड सवारीसाधनसम्बन्धी प्रशिक्षण टोयोटाका प्राविधिक विज्ञहरूद्वारा प्रदान गरिएको थियो भने विद्युतिय सवारीसाधनसम्बन्धी तालिम लक्ष्मी हुन्डाईका प्राविधिक विशेषज्ञहरूले सञ्चालन गरेका थिए।
नाइमाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकासका लागि प्राविधिक क्षमता अभिवृद्धि र संवादलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया