शीर्षकहरू

‘दोस्रो राष्ट्रिय आर्थिक गणना’ सुरु, १८ क्षेत्रका साना–ठूला सबै उद्योग–व्यवसाय समेटिने

‘दोस्रो राष्ट्रिय आर्थिक गणना’ सुरु, १८ क्षेत्रका साना–ठूला सबै उद्योग–व्यवसाय समेटिने

काठमाडौं । देशको समग्र आर्थिक अवस्थाको यथार्थ चित्र प्राप्त गर्ने उद्देश्यसहित सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित चैत १ देखि असार मसान्तसम्म गणना सञ्चालन गरिरहेको हो।

कार्यालयका अनुसार ७७ जिल्लामा ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी देशैभरका उद्योग, व्यापार, सेवा, सहकारी तथा सार्वजनिक संस्थानसम्बन्धी आधारभूत विवरण संकलन गरिनेछ। वैशाख २ देखि असार ७ सम्म ४ हजार ४ सयभन्दा बढी गणक तथा सुपरिवेक्षकहरू फिल्डमा खटिनेछन्।

यस गणनाबाट उद्योग–व्यवसायको संख्या, भौगोलिक वितरण, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी तथ्याङ्क संकलन गरिनेछ। साथै, कुल गार्हस्थ उत्पादनको अनुमानलाई सुदृढ बनाउने, राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तनका लागि आवश्यक तथ्याङ्क तयार गर्ने तथा नीति निर्माण र योजना तर्जुमामा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ।

कार्यालयका अनुसार अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरणअनुसार अर्थतन्त्रका २१ क्षेत्रमा विभाजन गरिएकोमा यस गणनामा १८ क्षेत्रका विवरण संकलन गरिनेछ। दर्ता भएका तथा नभएका साना–ठूला उद्योग, व्यापार–व्यवसाय, विद्यालय, अस्पताल, गैरसरकारी संस्था लगायत आर्थिक क्रियाकलाप सञ्चालन गर्ने सबै एकाइ समेटिनेछन्।

गणनालाई प्रभावकारी बनाउन डिजिटल प्रविधिको प्रयोग गरिएको छ। इ–सेन्सस प्लेटफर्म, जीआईएस नक्सा प्रणाली, डेली रिपोर्टिङ सिस्टम तथा अनलाइन अनुगमन प्रणाली सञ्चालनमा ल्याइएको छ भने समस्या समाधानका लागि कन्ट्रोल रुम र टोल–फ्री नम्बर ११७८ पनि व्यवस्था गरिएको छ।

कार्यालयले सङ्कलित विवरण तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य रहने र केवल समष्टिगत विश्लेषणका लागि मात्र प्रयोग गरिने स्पष्ट पारेको छ।गणनालाई सफल बनाउन उद्यमी, व्यवसायी, सेवा प्रदायक तथा सबै सरोकारवालालाई सही र पूर्ण विवरण उपलब्ध गराउन कार्यालयले आग्रह गरेको छ।

प्रतिक्रिया