शीर्षकहरू

नेपालमा टिकटकको कडाइ : तीन महिनामै १९ लाखभन्दा बढी भिडियो हटाइयो

नेपालमा टिकटकको कडाइ : तीन महिनामै १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं। सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले सन् २०२५ को अन्तिम त्रैमास (अक्टोबर–डिसेम्बर) सम्बन्धी कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गर्दै नेपालमा मात्रै झन्डै १९ लाख ३२ हजारभन्दा बढी भिडियो हटाइएको जनाएको छ।

प्रतिवेदनअनुसार उक्त अवधिमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने १९ लाख ३२ हजार ५७५ भिडियो हटाइएको हो। कन्टेन्ट हटाउने सक्रिय दर ९९.९ प्रतिशत कायम रहँदा ९८.४ प्रतिशत भिडियो २४ घण्टाभित्रै हटाइएको टिकटकले जनाएको छ।

विश्वव्यापी रूपमा भने सोही अवधिमा टिकटकले १७ करोड ५३ लाखभन्दा बढी भिडियो हटाएको छ, जुन कुल अपलोडको करिब ०.५ प्रतिशत हो। हटाइएका भिडियोमध्ये ठूलो हिस्सा अटोमेटेड डिटेक्सन प्रविधिबाट पहिचान गरिएको थियो। साथै, करिब ८३ लाख भिडियो पुनरावलोकनपछि पुनर्स्थापना गरिएको पनि प्रतिवेदनमा उल्लेख छ।

प्लेटफर्मको विश्वसनीयता कायम राख्ने उद्देश्यले टिकटकले १४ करोड ७७ लाखभन्दा बढी नक्कली खाताहरू हटाएको छ भने १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंकामा थप २ करोड ३८ लाखभन्दा बढी खाताहरू पनि निष्कासन गरिएको जनाएको छ।

यस अवधिमा एआई-आधारित मोडरेशन प्रणालीमा सुधार देखिएको टिकटकले दाबी गरेको छ। पहिलेको तुलनामा नहेरी हटाइने भिडियोको संख्या घटेको छ भने पुराना नियम उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गर्ने क्षमता बढेको बताइएको छ। कमेन्ट हटाउने दरमा पनि कमी आएको छ, किनकि अब केही अनुपयुक्त कमेन्टलाई सिधै हटाउनुको सट्टा तिनको पहुँच सीमित गर्ने रणनीति अपनाइएको छ।

प्रतिवेदनअनुसार हटाइएका भिडियोमध्ये २१.२ प्रतिशत संवेदनशील वा वयस्क विषयवस्तुसँग सम्बन्धित थिए। त्यस्तै ९.१ प्रतिशत भिडियोले सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड उल्लङ्घन गरेका थिए भने १.२ प्रतिशतले गोपनीयता र सुरक्षा निर्देशिका उल्लङ्घन गरेका थिए। भ्रामक सूचनासँग सम्बन्धित भिडियो १.६ प्रतिशत र एआई-निर्मित वा सम्पादित सामग्री १.८ प्रतिशत रहेको उल्लेख छ।

टिकटकले यस्ता प्रतिवेदनको नियमित प्रकाशनमार्फत कन्टेन्ट र खातामाथि गरिएका कारबाहीबारे पारदर्शिता कायम राख्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रतिक्रिया