शीर्षकहरू

सरकारी अस्पतालमा शनिबार र आइतबार ओपीडी बन्द, आकस्मिक सेवा भने २४ घण्टा

सरकारी अस्पतालमा शनिबार र आइतबार ओपीडी बन्द, आकस्मिक सेवा भने २४ घण्टा

काठमाडौं । सरकारी अस्पतालहरूको बहिरङ्ग (ओपीडी) सेवा अब शनिबार र आइतबार बन्द हुने भएको छ। यसअघि आइतबार सेवा खुला राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको भए पनि चिकित्सकहरूको असमर्थतापछि पुरानै बिदा प्रणाली लागू गर्ने निर्णय गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा हप्तामा दुई दिन बिदा लागू भए पनि स्वास्थ्य सेवामा अवरोध नहुने स्पष्ट गरिएको छ। अस्पतालहरूमा आकस्मिक र अन्तरंग (इन्डोर) सेवा भने २४ घण्टा निरन्तर सञ्चालन हुने मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णयअनुसार लागू गरिएको दुईदिने बिदा व्यवस्थालाई कार्यान्वयन गर्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गरिने मन्त्रालयको भनाइ छ। आइतबार तय भएका शल्यक्रिया (ओटी) लगायतका सेवा बिरामीको अवस्थाअनुसार पुनः तालिकाबद्ध गरिनेछ।

सेवा अवरुद्ध भएमा बिरामीलाई नजिकको उपयुक्त अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइने र एम्बुलेन्स सेवा सधैं तयारी अवस्थामा राखिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बिदाका दिनमा पनि स्वास्थ्य सेवा प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाउन अस्पतालहरूलाई निर्देशन दिएको छ। साथै, उपलब्ध सेवाबारे जानकारी वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गर्न पनि आग्रह गरिएको छ।

null

प्रतिक्रिया