एजेन्सी । इरानसँगको युद्धविरामको समयसीमा नजिकिँदै जाँदा स्ट्रेट अफ होर्मुजको सुरक्षा र समुद्री आवागमन पुनः सञ्चालन गर्ने विषयमा अन्तर्राष्ट्रिय चासो तीव्र बनेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र बेलायती विदेशमन्त्री यभेट कुपरबीच भएको टेलिफोन संवादमा युद्धविरामपछिको अवस्थाको समीक्षा गर्दै विशेषगरी होर्मुज क्षेत्रमा नौवहन सुरक्षालाई कसरी सुनिश्चित गर्ने भन्ने विषयमा केन्द्रित छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
दुवै पक्षले जलडमरूमध्यमा नौवहन स्वतन्त्रता तत्काल पुनःस्थापना गर्नुपर्नेमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय जलमार्ग अवरुद्ध हुँदा ऊर्जा आपूर्ति शृङ्खलामा असर परेको भन्दै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सहकार्य आवश्यक रहेको उनीहरूको निष्कर्ष छ।
अमेरिका र इरानबीच भएको युद्धविराम अप्रिल २२ मा सकिने तय भए पनि यसको भविष्य अझै अनिश्चित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम विस्तारबारे स्पष्ट निर्णय नभएको जनाउँदै वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। उनका अनुसार इरान आणविक कार्यक्रमसम्बन्धी विषयमा पनि केही हदसम्म लचिलो देखिएको छ।
यसैबीच युरोपेली नेतृत्वले पनि होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउन सक्रिय पहल थालेको छ। बेलायती प्रधानमन्त्री किर स्टार्मर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले करिब ४० देश सहभागी हुने भर्चुअल बैठक आयोजना गर्ने तयारी गरेका छन्।
उक्त बैठकमा युद्धविरामलाई समर्थन गर्दै प्रमुख समुद्री मार्गहरू सुरक्षित राख्ने उपाय र जलडमरूमध्य पुनः खोल्ने विषयमा बहुपक्षीय सहकार्यको खाका तयार पारिनेछ। बेलायती पक्षले अन्तर्राष्ट्रिय समन्वयमा सुरक्षा मिसन गठन गर्ने प्रस्तावसमेत अघि सारेको छ, जुन आवश्यक परे संयुक्त सैन्य प्रयासमार्फत कार्यान्वयन गर्न सकिने बताइएको छ।
विश्लेषकहरूका अनुसार होर्मुज जलडमरूमध्य अवरुद्ध हुँदा विश्वव्यापी ऊर्जा आपूर्ति र व्यापारमा प्रत्यक्ष असर परेकाले यसको समाधानका लागि अमेरिका, युरोप र क्षेत्रीय शक्तिहरूबीचको समन्वय निर्णायक हुने देखिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया