काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नलगाउन सरोकारवालालाई अनुरोध गरेको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासहित अन्य प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई कानुनबमोजिम श्रम सम्झौता नगरी काममा लगाइएको तथा तोकिएको समयभन्दा बढी काम गराइएको भन्दै उजुरी प्राप्त भएको उल्लेख गरिएको छ। यसप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
श्रम ऐन, २०७४ अनुसार रोजगार सम्झौता भनेको सेवा, शर्त र सुविधासम्बन्धी रोजगारदाता र श्रमिकबीच भएको औपचारिक सहमति हो, जसमा नियुक्तिपत्रसमेत समावेश हुने व्यवस्था छ।
मन्त्रालयका अनुसार कानुनले दैनिक आठ घण्टा र साप्ताहिक ४८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने स्पष्ट व्यवस्था गरेको छ। आवश्यक परे अतिरिक्त समय काम गराउँदा पनि दैनिक चार घण्टा र साप्ताहिक २४ घण्टाभन्दा बढी हुन नहुने प्रावधान रहेको छ।
मन्त्रालयले प्रचलित कानुनको पूर्ण पालना गर्न आग्रह गर्दै उल्लंघन गरे श्रम ऐनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया