एजेन्सी । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले लेबनानमा जारी युद्धविराम अवधिभर होर्मुज जलघाँटी “पूर्ण रूपमा खुला” रहने घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार, युद्धविरामको बाँकी १० दिनसम्म सबै व्यावसायिक जहाजहरूलाई उक्त जलमार्ग प्रयोग गरेर आवतजावत गर्न अनुमति दिइनेछ। यो आवागमन इरानको बन्दरगाह तथा समुद्री संगठनले निर्धारण गरेको समन्वित मार्गअनुसार सञ्चालन हुनेछ।
अराघचीका अनुसार, लेबनानमा कायम युद्धविरामको भावनालाई सम्मान गर्दै इरानले यस्तो निर्णय लिएको हो। होर्मुज जलघाँटी विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक भएकाले यसलाई खुला राख्ने निर्णयले अन्तर्राष्ट्रिय व्यापार तथा ऊर्जा आपूर्तिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यसअघि इरान ले अमेरिका र इजरायल को आक्रमणको प्रतिक्रिया स्वरूप फेब्रुअरीमा उक्त जलघाँटी केही हप्तासम्म प्रभावकारी रूपमा बन्द गरेको थियो, जसका कारण विश्वव्यापी इन्धन आपूर्ति प्रभावित भएको थियो।
हाल इरान र अमेरिकाबीच दुई हप्ताको युद्धविराम लागू छ, जुन अप्रिल २२ मा समाप्त हुने तय गरिएको छ। वार्ताअघि इरानले लेबनानसहित सम्पूर्ण मध्यपूर्व क्षेत्रमा युद्धविराम हुनुपर्ने अडान राखेको थियो। यस प्रक्रियामा मध्यस्थता गरिरहेको पाकिस्तान ले पनि लेबनानलाई युद्धविराममा समावेश गर्नुपर्नेमा जोड दिएको थियो।
इरानको पछिल्लो घोषणाले अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता केही हदसम्म कम हुने र समुद्री व्यापार सहज हुने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया