शीर्षकहरू

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठको राजीनामा, ब्रोकर नं ९६ लाई स्पष्टीकरण सोध्ने निर्णय

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठको राजीनामा, ब्रोकर नं ९६ लाई स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।शुक्रबार साँझ बसेको नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकमा उनले आफू पदबाट अलग हुने निर्णयबारे जानकारी गराएका हुन्। बैठकमा सहभागी एक सञ्चालकका अनुसार, श्रेष्ठले त्यहीँ राजीनामा दिने घोषणा गरेका थिए।

बैठक सकिएपछि श्रेष्ठले सञ्चालकहरूलाई जानकारी गराउँदै सरकारलाई सहयोग गर्ने उद्देश्यले आफूले पद त्याग गर्ने निर्णय लिएको बताएका थिए।

बैठकपछि उनी राजीनामा पत्र बुझाउन अर्थ मन्त्रालय पुगेका छन्। उनले आफ्नो राजीनामा डॉ. स्वर्णिम वाग्ले समक्ष बुझाउने जनाइएको छ।

दीपक भट्टको सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानमा श्रेष्ठ पनि तानिएपछि सरकारले उनलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेको थियो । सोही अनुसार श्रेष्ठले राजीनामा दिएका हुन् । श्रेष्ठलाई सरकारले १० मंसिर २०८१ मा धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो।

श्रेष्ठ बोर्ड अध्यक्ष नियुक्त भएलगत्तै उनको अनुभवसम्बन्धी योग्यता कानुनअनुसार नभएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको थियो।

अध्यक्ष बनेपछि श्रेष्ठले बिचौलियामार्फत विभिन्न कम्पनीका प्राथमिक शेयर (आईपीओ) निष्कासनमा कमिशनसम्बन्धी बार्गेनिङ गरेको आरोप समेत लागेको थियो।

विशेषगरी जलविद्युत कम्पनीहरूको आईपीओमा यस्तो गतिविधि भएको दाबी गरिएको छ। सोही विषयमा अख्तियारले उनलाई बोलाएर बयान समेत लिएको थियो। श्रेष्ठको नियुक्तिमा समेत बिचौलियाहरूको प्रभाव रहेको भन्दै सार्वजनिक रूपमा टिप्पणी हुँदै आएको थियो।

यसबाहेक आफ्नै लगानी रहेको बुंगल हाइड्रो लिमिटेडको आईपीओ उनी अध्यक्ष रहँदै निष्कासन गरिएको विषय पनि विवादमा परेको थियो। उक्त कम्पनीमा श्रेष्ठको ०.६२ प्रतिशत सेयर रहेको उल्लेख छ। विभिन्न विवादको घेरामा रहेका श्रेष्ठ करिब १७ महिना नेपाल धितोपत्र बोर्ड को नेतृत्व सम्हालेपछि पदबाट बाहिरिन लागेका हुन्।

श्रेष्ठको राजीनामासँगै धितोपत्र बोर्डमा नेतृत्व परिवर्तनको प्रक्रिया सुरु हुने भएको छ। आगामी नेतृत्व चयन र नियामक निकायको कामकारबाहीमा यसले प्रभाव पार्ने देखिएको छ।

त्यस्तै, सेबोन बैठकले हिमालयन सेक्युरिटिज (ब्रोकर नं ९६) लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। दीपक भट्ट र शाहिल अग्रवालको गैरकानुनी शेयर कारोबारमा संलग्नता देखिएपछि बोर्डले ब्रोकर कम्पनीलाई जवाफ माग्ने तयारी गरेको हो।

 

प्रतिक्रिया