काठमाडौं। चालु आर्थिक वर्षको नौ महिनामा निर्यात वृद्धि देखिए पनि त्यसको आधार कमजोर देखिएको छ। उत्पादन, मूल्य अभिवृद्धि र प्रतिस्पर्धी क्षमता नबढाई पुनःनिर्यातमा आधारित वृद्धि भएकाले यसको दिगोपनमाथि प्रश्न उठ्न थालेको छ। उता, व्यापार घाटा निरन्तर फराकिलो बन्दै जाँदा बाह्य क्षेत्रको जोखिम समेत बढ्दो देखिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (साउन–चैत) मा नेपालको वैदेशिक व्यापार १७ खर्ब १३ अर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागका अनुसार यस अवधिमा निर्यात २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.४६ प्रतिशतले बढी हो। तर, यही अवधिमा आयात १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ पुग्दा व्यापार घाटा १२ खर्ब ६७ अर्ब रुपैयाँमा फैलिएको छ।
आँकडाले निर्यात वृद्धि देखाए पनि त्यसको आधार कमजोर देखिएको छ। निर्यातको ठूलो हिस्सा प्रशोधित भटमास (सोयाबिन) तेलजस्ता आयातमा आधारित वस्तुमा केन्द्रित छ। नौ महिनामा मात्र ९० अर्ब ७१ करोड रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ, जुन कुल निर्यातको ठूलो अंश हो।
तर यससँगै गम्भीर पक्ष भनेको कच्चा भटमास तेलको आयात ९६ अर्ब ७२ करोड रुपैयाँसम्म पुगेको छ। यस्तो तेल नेपालले तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी प्रशोधनपछि भारततर्फ पुनः निर्यात गर्ने अभ्याससँग जोडिएको छ, जसले निर्यातको दिगोपनमा प्रश्न उठाएको छ।
यसले नेपालमा वास्तविक उत्पादनभन्दा पनि आयातित कच्चा पदार्थ प्रशोधन गरी पुनः निर्यात गर्ने प्रवृत्ति बलियो हुँदै गएको देखाउँछ। यस प्रकारको व्यापार संरचनाले निर्यात वृद्धि भएजस्तो देखिए पनि त्यसको गुणात्मक आधार कमजोर रहेको अर्थशास्त्रीहरू बताउँछन्।
निर्यात सूचीमा दोस्रो स्थानमा १० अर्ब ७० करोड रुपैयाँको अलैंची, त्यसपछि ७ अर्ब ४४ करोडको गलैंचा र ६ अर्ब ९४ करोड रुपैयाँको सूर्यमुखी तेल रहेको छ। परम्परागत तथा प्रतिस्पर्धी उत्पादनभन्दा आयातमा आधारित वस्तुको वर्चस्वले संरचनागत कमजोरी देखाउँछ।
आयाततर्फ भने ऊर्जा र कच्चा पदार्थमा निर्भरता अझै उच्च छ। नौ महिनामा मात्र २ खर्ब ५० अर्ब रुपैयाँ बराबरका पेट्रोलियम पदार्थ आयात भएका छन्, जसमा डिजेल एक्लै १ खर्ब ३ अर्ब ३१ करोड रुपैयाँ बराबर छ। कच्चा भटमासको तेल ९६ अर्ब ७२ करोड, पेट्रोल ५० अर्ब ३९ करोड र स्पन्ज आइरन ४२ अर्ब ६२ करोड रुपैयाँ बराबर आयात भएको छ। साथै, एलपी ग्यास, स्मार्टफोन, मल (डीएपी) र सुन पनि उच्च आयात हुने सूचीमा छन्।
मेसिनरी तथा उपकरण (१ खर्ब ८ अर्ब), फलाम–स्टिल (१ खर्ब ५ अर्ब) र इलेक्ट्रिकल उपकरण (९९ अर्ब ७३ करोड)मा भएको ठूलो खर्चले उत्पादनशील क्षेत्रमा लगानी बढेको संकेत दिन्छ तर त्यसको प्रतिफल निर्यातमा देखिन सकेको छैन। सवारीसाधन आयात मात्र ८३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।
वैदेशिक व्यापार संरचनामा भारत र चीनको प्रभुत्व यथावत छ। भारतबाट ८ खर्ब ४७ अर्ब रुपैयाँको आयात हुँदा नेपालबाट १ खर्ब ८३ अर्ब ९४ करोड रुपैयाँ निर्यात भएको छ। चीनबाट ३ खर्ब रुपैयाँको आयात हुँदा निर्यात भने १ अर्ब १९ करोड रुपैयाँमै सीमित छ। अर्जेन्टिना, यूएई र अमेरिका पनि प्रमुख साझेदारका रूपमा देखिए पनि व्यापार सन्तुलन ती मुलुकहरूसँग पनि कमजोर छ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९९ प्रतिशत र निर्यात १३.०१ प्रतिशत मात्र छ। आयात–निर्यात अनुपात ६.६९ पुगेको छ, जसले अर्थतन्त्रको उच्च आयात निर्भरता झल्काउँछ।
समग्रमा निर्यातमा देखिएको वृद्धि संरचनागत सुधारको परिणामभन्दा बढी पुनःनिर्यात प्रवृत्तिको असर जस्तो देखिन्छ। उत्पादन, मूल्य अभिवृद्धि र प्रतिस्पर्धी क्षमतामा सुधार नगरी निर्यात बढेको देखिनु दिगो नभएको अर्थविद्हरूको टिप्पणी छ। व्यापार घाटा निरन्तर फराकिलो बन्दै जाँदा अर्थतन्त्रमा बाह्य क्षेत्रको जोखिम पनि बढ्दो देखिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया