शीर्षकहरू

मुक्तिनाथ विकास बैंकको सीइओमा तारा मानन्धर नियुक्त

मुक्तिनाथ विकास बैंकको सीइओमा तारा मानन्धर नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा तारा मानन्धरलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई चार वर्षको कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । उनी आगामी जेठ १ गतेदेखि औपचारिक रूपमा बैंकको नेतृत्व सम्हाल्नेछन् । हालका सीइओ प्रद्युम्न पोखरेलको कार्यकाल वैशाख मसान्तमा सकिँदैछ ।

स्याङ्जाको अरिनास गाउँपालिका स्थायी घर भई हाल काठमाडौँको टोखा नगरपालिका–३ मा बसोबास गर्दै आएका मानन्धर अनुभवी बैंकर हुन् । करिब २५ वर्षभन्दा बढीको बैंकिङ अनुभव रहेका उनले नेपाल बङ्गलादेश बैंकबाट आफ्नो करियर सुरु गरेका थिए ।

त्यसपछि उनले एनसीसी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक र प्राइम कमर्सियल बैंक लगायत विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन् ।

मानन्धर यसअघि मुक्तिनाथ विकास बैंककै डेपुटी सीइओका रूपमा पनि कार्यरत रहिसकेका छन् । उनी कैलाश विकास बैंक (पछि प्राइम कमर्शियल बैंकमा मर्ज भएको) मा पनि डेपुटी सीइओका रूपमा कार्यरत थिए । मर्जरपछि आफूलाई कनिष्ठ पदमा राखिएको भन्दै उनले त्यतिबेला राजीनामा दिएका थिए । पछि उनी निजी क्षेत्रको सञ्चार कम्पनी डिसहोमको सीइओसमेत बनेका थिए ।

बैंकिङ क्षेत्रमा लामो अनुभव भएका मानन्धर पुनः बैंकिङ नेतृत्वमा फर्किएसँगै मुक्तिनाथ विकास बैंकले आगामी रणनीतिक विस्तार र व्यवस्थापन सुदृढीकरणमा नयाँ गति आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया