काठमाडौं। चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४५ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ११.२३ प्रतिशतले कम हो।
गत आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ५१ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको थियो। विद्युत बिक्री आम्दानीमा सामान्य गिरावट देखिए पनि अन्य आम्दानीका कारण समग्र वित्तीय अवस्था सन्तुलित रहेको कम्पनीले जनाएको छ।
कम्पनीले चैत मसान्तसम्म ८२ करोड ३६ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ८२ करोड ४९ लाख रुपैयाँको तुलनामा ०.१५ प्रतिशतले कम हो। यसै अवधिमा सञ्चालन नाफा पनि घटेर ५१ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ, जबकि गत वर्ष यस्तो नाफा ५४ करोड ६६ लाख रुपैयाँ थियो।
नाफा घट्नुमा प्रशासनिक खर्च र कर्मचारी सम्बन्धी व्यय बढ्नु प्रमुख कारण रहेको कम्पनीले जनाएको छ। यद्यपि, बैंक निक्षेप तथा अन्य लगानीबाट प्राप्त आम्दानी भने बढेको छ। कम्पनीले यस अवधिमा १० करोड २८ लाख रुपैयाँ लगानी आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.२३ प्रतिशत बढी हो।
कम्पनीको चुक्तापूँजी ९ अर्ब ४८ करोड ४९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष (रिटेन्ड अर्निङ) मा १ अर्ब १९ करोड रुपैयाँभन्दा बढी सञ्चित छ। कुल सम्पत्ति ११ अर्ब ९१ करोड रुपैयाँ नाघेको छ भने चालू दायित्व करिब १३ करोड रुपैयाँ रहेको छ।
तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४२ पैसा र प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ कायम भएको छ।
कम्पनीका अनुसार यस वर्ष हिउँदमा नदीमा पानीको बहाव कम हुँदा विद्युत उत्पादनमा केही असर परेको छ। साथै कर्मचारी खर्च र प्रशासनिक व्यय बढ्दा नाफामा दबाब परेको देखिएको छ।
चिलिमेले सेती नदी–३ (८७ मेगावाट), बुढीगण्डकी प्रोक (२१ मेगावाट) र स्यारखोला (५४ मेगावाट) जस्ता परियोजनामा लगानी विस्तार गरिरहेको जनाएको छ, जसले आगामी वर्षहरूमा आम्दानी वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया