शीर्षकहरू

मेटामाथि इयुको बालसुरक्षा आरोप, ६ प्रतिशतसम्म जरिवानाको सम्भावना

मेटामाथि इयुको बालसुरक्षा आरोप,  ६ प्रतिशतसम्म जरिवानाको सम्भावना

लन्डन। युरोपेली सङ्घ (इयू) ले सामाजिक सञ्जालमार्फत बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै प्रविधि कम्पनी मेटामाथि औपचारिक दबाब बढाएको छ। फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्ममा नाबालिग प्रयोगकर्तालाई रोक्न असफल भएको निष्कर्षसहित नियामकहरूले कडा कारबाहीको चेतावनी दिएका छन् ।

युरोपेली आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक मूल्याङ्कनअनुसार मेटाले १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्लेटफर्ममा खाता खोल्नबाट रोक्ने प्रभावकारी प्रणाली विकास गर्न नसकेको देखिएको छ । साथै, खाता खोलिसकेपछि पनि त्यस्ता प्रयोगकर्तालाई पहिचान गरी हटाउने प्रक्रिया पर्याप्त नभएको आयोगले जनाएको छ ।

मेटाले आफ्नै नियमअनुसार न्यूनतम उमेर १३ वर्ष तोकेको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन कमजोर देखिएको आयोगको निष्कर्ष छ । यसले बालबालिकालाई अनुपयुक्त सामग्री र अनियन्त्रित डिजिटल अनुभवको जोखिममा पार्ने अवस्था सिर्जना गरेको बताइएको छ ।

आयोगका अनुसार समस्या केवल पहुँच नियन्त्रणमा मात्र सीमित नभई, बालबालिका कस्ता सामग्रीसँग सम्पर्कमा आउँछन् भन्ने जोखिम मूल्याङ्कनमा पनि कमजोरी देखिएको छ ।

यो अनुसन्धान युरोपेली सङ्घको डिजिटल सेवा ऐन अन्तर्गत अघि बढाइएको हो, जसले ठूला प्रविधि कम्पनीहरूलाई प्रयोगकर्ता सुरक्षा, विशेषगरी नाबालिग सुरक्षामा थप जिम्मेवार बनाउने व्यवस्था गरेको छ ।

आयोगका कार्यकारी उपाध्यक्ष हेना विर्ककुनेनका अनुसार मेटाले आफ्नै नियम कार्यान्वयनमा “अत्यन्त सीमित प्रयास” मात्र गरेको देखिएको छ । उनले नियमहरू कागजमा मात्र सीमित नभई व्यवहारमा प्रभावकारी रूपमा लागू हुनुपर्ने स्पष्ट सन्देश दिनुपर्ने बताए ।

अब मेटालाई आयोगको प्रारम्भिक निष्कर्षमा आफ्नो प्रतिक्रिया दिने अवसर दिइनेछ । अन्तिम निर्णयपछि उल्लङ्घन प्रमाणित भएमा कम्पनीलाई विश्वव्यापी वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने सम्भावना रहेको छ ।

मेटाले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन । इयूको यो कदमलाई विश्वभर सामाजिक सञ्जाल कम्पनीहरूमाथि बालसुरक्षा सम्बन्धी कडा नियमनतर्फको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।

प्रतिक्रिया