शीर्षकहरू

एलआईसी नेपालको बदमासी : 'डमी बीमित' बनाएर धमाधम पाेलिसि काट्दै

एलआईसी नेपालको बदमासी : 'डमी बीमित' बनाएर धमाधम पाेलिसि काट्दै

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले डमी बीमितकाे नाममा पाेलिसि बिक्री गरेकाे तथ्य बाहिरिएको छ । कम्पनीले डमीकाे नाममा पाेलिसि काटेर बीमितको रकम दुरुपयोग गर्ने गरेको हो । 

कम्पनीले विगतमा पनि फेक कार्य गर्दै आएको थियो । त्यसलाई यस पटक पनि निरन्तरता दिएको हो । २०७८ मा पनि कम्पनीले बीमितलाई नोक्सानी हुने कार्य गरेको थियो । तर, त्यो सफल हुन भने सकेन । बीमितले बीमा पोलिसि धितोमा राखेर कर्जा लिएको र त्यो कर्जा बापतको रकम बीमितले भुक्तान गरेपछि पनि कम्पनीले सिस्टमबाट भुक्तानी नगरेको देखाईदिएको थियो । 

बीमितले पोलिसि परिपक्व भएपछि रकम माग्न जाँदा कर्जा बापतको रकम भुक्तानी नभएको दाबी कम्पनीले गरेको थियो । पछि अदालतले नै बीमितलाई रकम दिनका लागि कम्पनीलाई आदेश दिएको थियो । 

कम्पनीले त्यो घटनालाई सम्झाउने गरी फेरी नयाँ फेक काण्ड गरेको छ । जसले कम्पनीमा बीमा गर्ने बीमितलाई झस्काई रहेको छ ।

डमी नाममा पोलिसि

कम्पनीले एउटा डमी बीमित, डमबी बीमालेख नम्बर खडा गर्छ । र त्यो डमी नाममा बीमा पोलिसि काटदछ । यसरी डमीकाे नाममा पोलिसि खडा गरिन्छ । यसरी डमी तथा डमीकाे पोलिसि खासगरी आर्थिक दूरुपयोग गर्नका लागि कम्पनीका कर्मचारीले गर्ने गर्दछन् । 

सम्पत्ति शुद्धीकरण गर्नका लागि पनि यस्तो गैरकानुनी कार्य हुने गर्दछ । यस्तै, बीमितलाई गठनका लागि पनि यस्ता कार्य हुने गर्दछन् । तर, एलआईसी नेपालमा भने कुन उद्देश्यका लागि फेक पोलिसि खडा गरेकाे हाे भन्ने विषय नेपाल बीमा प्राधिकरणले छानबिन गरेपछि पत्ता लाग्नेछ । यस विषयमा प्राधिकरणले छानबिन गर्ने जनाएको छ । 

आर्थिक न्यूजलाई प्राप्त डकुमेन्ट अनुसार ९९००३४४६८ नम्बर डमी पोलिसि नम्बर बनाइएको छ । उक्त पोलिसि १० लाख रुपैयाँ बराबरको छ । २०२३ मा त्यो पोलिसि खडा गरेको डकुमेन्टमा देखिन्छ । धर्मराज भण्डारीको नाममा त्यो पोलिसि निर्माण गरिएको छ । पोलिसिमा बीमितको व्यक्तिगत विवरण पनि धर्मराज भण्डारीकै राखिएको छ । 

ताकी उनी कम्पनीका तत्कालिन एजेन्सी म्यानेजर हुन् । हाल उनी नेशनल लाइफको एजेन्सी मयानेजर छन् । भण्डारीले आफूले त्यो बीमा खरिद नगरेको आर्थिक न्यूजलाई बताएका छन् ।

उनले आर्थिक न्यूजसँग भने, 'मैले एलआईसीमा बीमा गरेको छु, तर त्यो नम्बरको (९९००३४४६८) बीमा मेरो हैन ।’  भण्डारीका अनुसार कम्पनीले आफ्नो व्यक्तिगत विवरण दुरुपयोग गरेर डमीकाे नाममा पोलिसि बनाएको हो । उनले भने, 'यदि त्यो पोलिसि मेरो हो भने मलाई फाइदै हुन्थ्यो । १० लाख रुपैयाँ पाइन्थ्यो । तर, त्यो मेरो होईन ।’

नेपालमा कुनै पनि पोलिसिको सिरियल नम्बर ९९ बाट सुरु हुँदैन । त्यो पोलिसि फेक हो भन्ने यो अर्काे तथ्य हो ।

​​​​​nullके भन्छ कम्पनी ? 

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अनिर्बन दत्तले फेक पोलिसि निर्माण गरिएको विषय फेक रहेको दाबी गरे । 

उनले भने, 'यस विषयमा प्रहरी र नेपाल बीमा प्राधिकरणले पनि छानबिन गरिसकेको छ । उहाँहरूले कम्पनीमा फेक पोलिसि निर्माण नभएको भनिसक्नु भएको छ, हामीले फेक काम नगरेको प्रमाण यो पनि हो ।’

के भन्छ प्राधिकरण ? 

प्राधिकरणका एक उच्च पदस्थ कर्मचारीका अनुसार फेक पाेलिसिको बारेमा उजुरी प्राधिकरणमा चैत १६ गते परेको छ । यस बारेमा छानबिन हुनेछ । कहिले छानबिन गर्ने भन्ने निर्णय हुन बाँकी रहेको छ । 

३ महिना अघि पनि एलआईसीमा फेक पोलिसिको विषयमा प्राधिकरणले छानबिन गरेको हो ? भन्ने प्रश्नमा ति कर्मचारीले भने, 'एलआईसीमा बेला बेला निरीक्षण गरिरहेका हुन्छौँ, धेरै कम्प्लायन्सहरु रहेका हुन्छन् । धेरै वटा टिमले अनुगमन गर्दै आएको छ । अब ३ महिना अघि के के विषयमा छनबिन भयो भन्ने विषय अहिले भन्न सकिने । किनकी धेरै विषय छन् । एउटा मात्रै विषयमा भएको भए सजिलै भन्न सकिन्थ्यो ।’

प्रतिक्रिया