काठमाडौं । बीमा कम्पनीहरूले बीमितलाई मर्का पर्नेगरी दायित्व निर्धारण गरेको गुनासो आएपछि नियामक निकायले ध्यानाकर्षण गराएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले कम्पनीहरूले बीमितलाई भुक्तानी गर्नुपर्ने भन्दा कम रकम भुक्तानीका लागि दायित्व निर्धारण गरेकाे लगायत विषयमा गुनासोहरू प्राप्त भएको भन्दै कम्पनीहरूलाई ध्यानाकर्षण गराएको हो ।
प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै यस्तो ध्यानाकर्षण गराएको छ । उक्त सूचना पत्रमा कम्पनीहरूले समयमा सर्भेयर नखटाएको, सर्भेयरले समयमा क्षतिको मूल्याङ्कन रिपोर्ट तयार नगरेको, अनावश्यक कागजात माग्ने गरेको, दाबी भुक्तानी गर्नुपर्ने भन्दा कम भुक्तानी गर्नुपर्ने गरी दायित्व निर्धारण गरेको गुनासो प्राधिकरणमा प्राप्त भएको उल्लेख छ ।
यस प्रकारको कार्यहरू दोहोरिएमा सर्भेयरहरुको हकमा २ हजारदेखि २५ हजारसम्म र बीमकको हकमा २ लाखदेखि २० लाख रूपैयाँसम्म जरिवाना हुने कानून प्रावधान रहेको भन्दै सोही अनुसार कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।
'बीमकलाई बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा ९३० बमोजिम दुई लाख रूपैयाँ देखि बीस लाख रूपैयाँसम्म जरिवाना तथा सर्भेयरलाई सोही दफाको उपदफा ९९० बमोजिम दुई हजार रूपैयाँ देखि पच्चीस हजार रूपैयाँ सम्म जरिवाना हुन सक्ने कानूनी व्यवस्था प्रति सचेत रही कार्य गर्नुहुन सम्बन्धित सबैको ध्यानाकर्षण गराइएको छ ।’ प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।