काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालका कर्मचारीले कराेडौँ रुपैयाँ हिनामिना गरेको तथ्य बाहिरिएको छ । कम्पनीका उच्च पदस्थ कर्मचारीहरुले नक्कली एमडीआरटी खडा गरेर कराेडौँ रुपैयाँ हिनामिना गरेको तथ्य फेला परेको हो ।
कम्पनीले एमडीआरटीका लागि योग्य भएका बीमा अधिकर्ताका लागि एमडीआरटी मिट गर्दै आएको छ । एमडीआरटीका लागि छनौट भएका बीमा अधिकर्तालाई फाइभ स्टार होटलमा लगेर कक्टेल डिनरसहित होटलमै बास बसाउँदै आएको छ । तर, यसरी तारे होटलमा लगेर कक्टेल डिनर गराउँदा नक्कली एमडीआरटीहरु पनि समावेश भएका छन् ।
जीवन बीमा कम्पनीहरुले एमडीआरटीका लागि योग्य भएका अभिकर्तालाइ तारे होटलमा कक्टेल डिनर गराउनु नौलो कुरा होइन । तर, एलआईसी नेपालले नक्कली एमडीआरटीलाई पनि त्यस प्रकारको कक्टेल डिनरमा सामेल गराएर जनताको करडौँ रुपैयाँ स्वाहा पर्दै आएको छ । अर्थात् कक्टेल डिनरमा सामेल गराउन नै एमडीआरटी बन्न नसेकेका बीमा अधिकर्तालाई नक्कली एमडीआरटी बनाएको तथ्य बाहिरिएको छ । कम्पनीले होटल सोल्टी, गोकर्णेश्वर रिसोर्ट लगायत लक्जरी होटलमा लगेर डिनर पार्टी गराउँदै आएको छ ।
घटना नम्बर १ : कम्पनीले २०८१ मंसिर १६ गते होटल सोल्टीमा अध्यक्ष क्लबको मिटिङ्ग गर्यो । अध्यक्ष क्लबमा छनौट भएका बाहेक अन्य ३० प्रतिशत बढी मानिसलाई त्यस मिटमा कम्पनीका कर्मचारीले सामेल गराए । आफ्नो चिनजानका आधारमा कर्मचारीले किर्ते हस्ताक्षर गराएर ३० प्रतिशत बढीलाई सो मिटिङमा सामेल गराएको थियो ।
कम्पनीले अभिकर्ताहरुलाई अध्यक्ष क्लबको मिटिङ्ग, सीईओ क्लबको मिटिङ्गको नाममा कक्टेल डिनर गराउँने गर्दछ । १६ गते पनि कक्टेल डिनरका लागि अध्यक्ष क्लबको मिटिङ्गका राममा अन्य ३० प्रतिशतलाई कक्टेल डिनरमा सामेल गराएको थियो ।
सो मिटमा २७२ जनालाई सहभागी गराएको थियो । जसमा ३० प्रतिशत अर्थात् ८० जना बाहिरि मानिस समावेश थिए । सामान्यतः ५ तारे होटलमा कक्टेल डिनरको प्रति व्यक्ति १० हजार रुपैयाँबाट सुरु हुन्छ । १० हजार रुपैयाँका दरले मात्रै हिसाब गर्ने हो भने पनि त्यो मिटमा ८० लाख रुपैयाँ बढी खर्च भएको देखिन्छ । जुन जनताको रकम हो । यसबारे नेपाल बीमा प्राधिकरणमा तत्कालै छानबिनका लागि पनि उजुरी परेको थियो ।
घटना नम्बर २ : यस्तै, कम्पनीले २०८२ मा पनि अध्यक्ष क्लबको मिटिङ्ग गरेको थियो । हायत होटलमा गरेको सो मिटिङ्गमा पनि ३० प्रतिशत एक्स्ट्रमा मानिसलाई प्रवेश गराएको थियो ।
घटना नम्बर ३ : २०८२ चैत ४ गते कम्पनीले गोकर्ण रिसोर्टमा १११ जनालाई कक्टेल डिनर सहित बासको व्यवस्था गर्यो । खासगरी एमडीआरटीका लागि योग्य भएका अभिकर्ताका लागि कम्पनीले यस्तो व्यवस्था गरेको थियो ।
तर, त्यहाँ २२ जना नक्कली एमडीआरटी थिए । अर्थात् २२ जनालाई एमडीआरटीका लागि योग्य भएका थिएनन्, तर उनीहरुलाई पनि सो कक्टेल डिनर सहितको बास गराइएको थियो ।
कसरी बनाइयो नक्कली एमडीआरटी ?
कसरी नक्कली एमडीआरटी खडा गरियो भन्ने प्रसंग पहिला एमडीआरटी भनेको के हो ? भनेर बुझन जरुरी हुन्छ । एमडीआरटी (मिलियन डलर राउन्ड टेबल) एक अन्तराष्ट्रिय संस्था हो । जसको हेडअफिस अमेरिकामा छ । एमडीआरटीमा छनौँट हुनका लागि बीमा अभिकर्ताले वर्षमा ५४ लाख रुपैयाँको बीमा पोलिसि बिक्री गरेको हुनु पर्दछ ।
जनुवारी देखि डिसेम्बरसम्म उक्त टार्गेट पुरा गर्नु पर्दछ । जहाँ अभिकर्ताले एकल बीमा शुल्क बीमालेख मार्फतको ६ प्रतिशत रकम मात्रै गणना गर्न पाइन्छ ।
तर, ६ प्रतिशतको स्थानमा २५ प्रतिशत गणना गरेर एमडीआरटीको टार्गेट पुर्याइएको थियो । यसरी एमडीआरटीको नियमभन्दा बढी गणना गरेर नक्कली एमडीआरटी बनाइएको थियो । उनीहरुलाई गोकर्णेश्वर रिसोर्टमा सामेल गराइएको थियो ।
गोकर्णेश्वर रिसोर्टमा कक्टेल डिनर सहित एक रातको बास बस्दा प्रति व्यक्ति ३० हजारदेखि सुरु हुन्छ । यस आधारमा सो दिन कम्पनीले करिब ७ लाख रुपैयाँ दुरुपयोग गरेको देखिन्छ ।
कम्पनीका कर्मचारीहरुले यस्तो प्रकारको मिट आयोजना गरेर कराेडौँ रुपैयाँ दुरुपयोग गरेको बारेमा नेपाल बीमा प्राधिकरणमा उजुरी नै परेको छ । प्राधिकरणले छानबिन पनि गर्ने जनाएको छ ।
एमडीआरटी हेडअभिले दियो चेतावनी
यसरी नक्कली एमडीआरटी बनाएको विषयमा एमडीआरटीको हेडअफिसले कम्पनीलाई चेतावनी समेत दिएको छ । हेडअफिसले ईमेल मार्फत यस्तो चेतावनी दिएको छ । एमडीआरटीको नेपाल हेर्ने सदस्यलाई हेडअफिसले एनआईसी नेपाललाई चेतावनी सहितको ईमेल पठाएको प्रमाण आर्थिक न्यूजसँग सुरक्षित छ ।
आर्थिकन्यूज
प्रतिक्रिया