शीर्षकहरू

स्थिर सम्पत्ति खरिद-बिक्रीमा सहज, नेटवर्थको १० प्रतिशत माथिको खरिदमा मात्रै स्वीकृती आवश्यक

स्थिर सम्पत्ति खरिद-बिक्रीमा सहज, नेटवर्थको १० प्रतिशत माथिको खरिदमा मात्रै स्वीकृती आवश्यक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको स्थिर सम्पत्ति खरिद तथा बिक्री सम्बन्धी निर्देशन २०८२ जारी गरेको छ । चैत १७ गते जारी भएको उक्त निर्देशन अनुसार स्थिर सम्पत्ति खरिद बिक्रीमा बीमा कम्पनीलाई सहज बनाइएको छ ।

निर्देशन अनुसार नेटवर्थको ३० प्रतिशतसम्म मात्रै स्थिर सम्पत्ति खरिद तथा बिक्री गर्न पाउने छ । जसका लागि सल्भेंसी रेसीयो १३० प्रतिशत हुनुपर्ने छ । बीमा कम्पनीहरूले कार्यालय प्रयोजनका लागि, व्यावसायिक प्रयोजनका लागि वा दुवै प्रयोजनका लागि मात्रै घर, जग्गा तथा घरजग्गा खरिद गर्न सक्नेछन् । कम्पनीले आफ्नो घरजग्गा तथा अन्य सम्पत्ति भाडामा दिँदा बजार मूल्य बमोजिम हुनु पर्ने छ । स्वार्थ बाझिने गरी स्थिर सम्पत्ति खरिद बिक्री गर्न पाइने छैन । 

बीमा कम्पनीले खरिद तथा बिक्री गरेको स्थिर सम्पत्तिको मूल्य खुल्ने गरि विवरण हरेक त्रैमासिक समाप्त भएको एक महिनाभित्र प्राधिकरणमा पेश गर्नुपर्ने छ ।

यस अवस्थामा खरिद गर्न पाइँदैन

-खरिद वा निर्माण गर्न लागेको सम्पत्ति सुरक्षित तथा उपयुक्त स्थानमा नहुने देखिएमा, 

-सम्पत्ति खरिद वा निर्माण गर्दा बीमित तथा साहुको दायित्व समयमा भुक्तानी हुने गरी तरलता व्यवस्थापन नहुने देखिएमा,

-स्वतन्त्र आधिकारिक व्यक्ति, संस्थाबाट प्राप्त घर, जग्गा वा घरजग्गाको मूल्याङ्कन सम्बन्धी प्रतिवेदन अनुसारको मूल्य भन्दा बढी खरिद मूल्य भएमा, 

-खरिद गर्न लागेको घरजग्गाको चलनचल्तीको मूल्य सम्बन्धमा सम्बन्धित स्थानीय तह प्राप्त सिफारिस भन्दा बढी मूल्य भएमा ।

स्वीकृति लिनु पर्ने

विदेशी बीमा कम्पनीले नेपालमा रहेको अचल सम्पत्ति वा दश लाख रूपैयाँ वा सोभन्दा बढीको चल सम्पत्ति बेचबिखन वा धितोबन्धक गरिदिँदा वा विदेशी मुलुकमा फिर्ता लैजाँदा प्राधिकरणको पनि स्वीकृति लिनु पर्नेछ । 

स्वदेशी बीमकले लेखापरीक्षण भएको पछिल्लो वित्तीय विवरण बमोजिमको नेट वर्थको १० प्रतिशत भन्दा बढी मूल्यको स्थिर सम्पत्ति एकै आर्थिक वर्षमा बिक्री गरेको खण्डमा सोको जानकारी प्राधिकरणलाई दिनु पर्नेछ । यस अघि नेटवर्थको २ प्रतिशत बढी मूल्यको स्थिर सम्पत्ति बिक्री गर्दा प्राधिकरणबाट स्वीकृत लिने पर्ने प्रावधान थियो । 

घरजग्गा खरिदको प्रयोजन तथा शर्त

-बीमकको सम्पूर्ण पूर्व सञ्चालन खर्च अपलेखन भइसकेको हुनु पर्ने, 

-बीमकको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिमको सेयर सर्वसाधारणमा जारी गरी सकेपछिको पहिलो साधारण सभा सम्पन्न भएको हुनु पर्ने, 

-विगत दुई वर्षदेखि निरन्तर खुद मुनाफामा सञ्चालन भएको र सञ्चित नोक्सानीमा नरहेको हुनु पर्ने, 

-प्राधिकरणले तोकेको न्यूनतम् सल्भेंसी मार्जिन १३० प्रतिशत कायम भएको हुनु पर्ने । 

तर, कार्यालय प्रयोजनको लागि मात्र घर, जग्गा वा घरजग्गा खरिद वा निर्माण गर्न यो शर्त लागु हुने छैन ।

 

प्रतिक्रिया