भैरहवा । नेपालको रूपन्देही जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चुन्नप्रसाद पौडेलले शनिबार तिलोत्तमा नगरपालिका वडा नं १ मा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्। घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा र प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
घरदैलो अभियानलाई सम्बोधन गर्दै पौडेलले कांग्रेस अहिले सच्चिँदै आएको दाबी गरे। “कांग्रेस अहिले सच्चिँदै आएको छ, यो पुरानो कांग्रेस होइन, नयाँ सोच र नयाँ संकल्पसहित अघि बढेको कांग्रेस हो,” उनले भने, “जनताका अपेक्षा अनुसार काम गर्ने दृढ अठोटका साथ हामी तपाईंहरूमाझ आएका छौं।” उनले पार्टीभित्र आन्तरिक सुधार र नीतिगत स्पष्टतासहित अगाडि बढिरहेको उल्लेख गर्दै मतदातालाई विश्वास गर्न आग्रह गरे।
पौडेलले क्षेत्रीय विकासलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको बताए। “यस क्षेत्रको समग्र विकास हाम्रो मुख्य एजेन्डा हो,” उनले भने, “विशेषगरी औद्योगिक क्षेत्रको विकासमार्फत स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हाम्रो योजना छ।” उनले उद्योग स्थापना र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण, लगानीमैत्री वातावरण र सहजीकरणमा पहल गर्ने प्रतिबद्धता जनाए।
शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफूले प्राथमिकतामा राखेको उनले दोहोर्याए। “गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवा प्रत्येक नागरिकको अधिकार हो,” पौडेलले भने, “युवालाई विदेश जान बाध्य हुने अवस्था अन्त्य गर्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ, यही हाम्रो लक्ष्य हो।” उनले प्राविधिक शिक्षा विस्तार, सामुदायिक विद्यालयको स्तरोन्नति तथा स्वास्थ्य संस्थामा जनशक्ति र उपकरणको अभाव पूर्ति गर्ने योजना रहेको बताए।

घरदैलोका क्रममा उनले सुकुम्बासी समस्या समाधानलाई पनि विशेष जोड दिए। “विगतमा पटक–पटक सरकारमा पुगेर पनि केही दलहरूले जनताका आधारभूत समस्या समाधान गर्न सकेनन्,” उनले भने, “अब सुकुम्बासी समस्या समाधान गर्न नेपाली कांग्रेस सक्षम छ।” उनले व्यवस्थित बसोबास, जग्गा व्यवस्थापन र कानुनी प्रक्रिया सरलीकरणमार्फत दीर्घकालीन समाधान निकाल्ने बताए। “हामी नारा होइन, व्यवहारिक समाधान दिन चाहन्छौं,” उनले थपे।
पौडेलले विकासका काममा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाए। “जनताले दिएको मतको सम्मान गर्दै हरेक काम पारदर्शी ढंगले गरिनेछ,” उनले भने, “अब राजनीतिक संस्कार बदल्न जरुरी छ, त्यसका लागि कांग्रेसले उदाहरण प्रस्तुत गर्नेछ।”
घरदैलो कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले पनि आफ्ना धारणा राखेका थिए। कार्यक्रममा भेटिएका अनिरुद्र पाण्डेले कांग्रेसप्रति आशा व्यक्त गरे। “कांग्रेस अहिले परिमार्जन भएर आएको देखिन्छ,” उनले भने, “अब उसलाई काम गरेर देखाउने अवसर दिनुपर्ने अवस्था आएको छ।” उनले विकास, रोजगारी र आधारभूत सेवाको सुधारमा ध्यान दिन आग्रह गरे।
स्थानीय महिलाहरूले स्वास्थ्य सेवा र खानेपानी व्यवस्थापनको विषय उठाएका थिए भने युवाहरूले रोजगारी र सीपमूलक तालिमका कार्यक्रम आवश्यक रहेको बताएका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै पौडेलले भने, “तपाईंहरूका हरेक समस्या र सुझावलाई हामीले गम्भीर रूपमा लिएका छौं। जनताको प्रत्यक्ष सहभागितामा योजना बनाउने र कार्यान्वयन गर्ने हाम्रो सोच छ।”्
घरदैलो अभियानमा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। टोल–टोलमा पुगेका उम्मेदवार पौडेलले प्रत्येक घरमा पुगेर मतदातासँग हातेमालो गर्दै विश्वासको मत दिन आग्रह गरेका थिए। “हामी जनताको घरदैलोमै पुगेर प्रतिबद्धता जनाइरहेका छौं,” उनले भने, “अबको निर्वाचनमा तपाईंहरूको साथ र विश्वासले मात्र विकासको अभियान सफल हुन्छ।”
कार्यक्रमको समापनतर्फ उनले मतदातालाई निर्वाचनमा सहभागी भई लोकतान्त्रिक अधिकार प्रयोग गर्न अपिल गरे। “मतदान लोकतन्त्रको आधार हो,” पौडेलले भने, “सही निर्णय गरेर क्षेत्र र देशको भविष्य सुनिश्चित गर्नुहोस्।” उनले आगामी दिनमा पनि निरन्तर घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै जनतासँग प्रत्यक्ष संवाद गर्ने जानकारी दिए।
यसरी तिलोत्तमा नगरपालिका वडा नं १ मा सम्पन्न घरदैलो कार्यक्रममार्फत उम्मेदवार पौडेलले विकास, औद्योगिक विस्तार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सुकुम्बासी समस्या समाधानलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्। चुनाव नजिकिँदै जाँदा क्षेत्र नम्बर २ मा उम्मेदवारहरूको घरदैलो र चुनावी गतिविधि थप सक्रिय बन्दै गएको छ।
पुनहरि बेल्बासे
प्रतिक्रिया