शीर्षकहरू

इरान युद्धको असर छिचोल्दै चीनको आर्थिक वृद्धि ५ प्रतिशत हासिल

इरान युद्धको असर छिचोल्दै चीनको आर्थिक वृद्धि ५ प्रतिशत  हासिल

ग्वाङझाउ। ऊर्जा आपूर्ति संकट र इरान युद्धका कारण उत्पन्न अस्थिरताका बीच पनि चीनको अर्थतन्त्रले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चालु वर्षको पहिलो त्रैमासमा ५ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको छ।

चीनको राष्ट्रिय तथ्यांक ब्यूरोका अनुसार जनवरीदेखि मार्चसम्मको अवधिमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५ प्रतिशतले बढेको हो। यो अघिल्लो त्रैमासको ४.५ प्रतिशत वृद्धिभन्दा बढी हो।

निक्केई र निक्केई क्विक न्युजले गरेको सर्वेक्षणमा विश्लेषकहरूले औसत ४.७ प्रतिशत वृद्धि हुने अनुमान गरेका थिए, जसलाई पनि यो तथ्यांकले उछिनेको छ।

विश्लेषकहरूका अनुसार फेब्रुअरी अन्त्यतिर सुरु भएको अमेरिका–इरान द्वन्द्वले विश्व बजारमा ऊर्जा, रसायन तथा धातुहरूको मूल्य वृद्धि गराएको छ। विशेषगरी इन्धन, एल्युमिनियमलगायत कच्चा पदार्थ महँगिँदा चीनको नाममात्र जीडीपी वृद्धि पनि ४.८ प्रतिशत पुगेको छ, जुन अघिल्लो त्रैमासको ३.८ प्रतिशतभन्दा उल्लेख्य रूपमा बढी हो।

घरेलु माग कमजोर रहे पनि निर्यातमा आएको सुधारले अर्थतन्त्रलाई सहारा दिएको चिनियाँ अधिकारीहरूको भनाइ छ। विश्व बजारमा बढेको मूल्य र निर्यात वृद्धिले समग्र आर्थिक वृद्धिलाई गति दिएको देखिएको छ।

प्रतिक्रिया