शीर्षकहरू

मन्त्रीपरिषद बैठक : राजनीतिक र उच्च पदस्थ कर्मचारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन

मन्त्रीपरिषद बैठक : राजनीतिक र उच्च पदस्थ कर्मचारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन

काठमाडौं । नेपाल सरकारले मन्त्रिपरिषद् बैठकमार्फत विभिन्न महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। सरकारले २०६२/६३ सालदेखि २०८२/८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ र छानबिन आयोग गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरूमा पूर्वन्यायाधीशहरू चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल छन ।

प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि सरकारले गत  चैत १३ गते १५ दिनभित्र समिति गठन गर्ने निर्णय गरेको थियो । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४३ औँ बुदाँमा  यसबारे उल्लेख गरिएको छ ।

 उक्त बुँदामा देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्र्तगत रहनेगरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने उल्लेख छ ।

 छानबिन प्रक्रियालाई कानूनी मापदण्ड, प्रमाणमा आधारित तथा निष्पक्ष रूपमा सञ्चालन गर्ने तथा आयोगले पेस गरेको प्रतिवेदन तथा सिफारिसहरू सम्बन्धित निकायमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप कोषलाई स्वीस सरकारबाट १ मिलियन स्वीस फ्याङ्क बराबरको अनुदान लिने निर्णय गरेको छ । आन्तरिक राजश्व विभागका उपमहानिर्देशकदेखि शाखा अधिकृतसम्मका पदाधिकारीलाई अन्तस्शुल्क अधिकृतको रूपमा तोक्ने निर्णय गरेको छ । 

त्यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ । नेपाल सरकार र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता (२०८२ फागुन ५) प्रतिनिधिसभामा जानकारीका लागि पेश गर्ने निर्णय गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी राष्ट्रिय मापदण्ड २०८२ स्वीकृत गरेको छ ।  

प्रतिक्रिया