काठमाडौं। एपोलो हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत चैत २६ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले दोस्रो चरणमा ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आईपीओमा आवेदन सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणाली तथा सि–आस्बा सेवामार्फत बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको शेयर बाँडफाँट भइसकेपछि सर्वसाधारणका लागि खुला गरिएको हो।
कुल ५७ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता शेयर निष्कासनको अनुमति पाएको कम्पनीले विभिन्न वर्गमा छुट्याएर बाँडफाँट गरिसकेको छ। अब बाँकी शेयर सर्वसाधारणमा बिक्री भइरहेको हो।
आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई केयर रेटिङ्स नेपाल लिमिटेडले ‘केयरएनपी डबल बी माइनस’ रेटिङ दिएको छ, जसले दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
कम्पनीले ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसको अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि करिब ७.७७ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६.४३ वर्ष रहेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया