शीर्षकहरू

एनओसी प्रक्रिया पूर्ण रूपमा अनलाइन र फेसलेस, अब घरमै बसेर ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिन सकिने

एनओसी प्रक्रिया पूर्ण रूपमा अनलाइन र फेसलेस, अब घरमै बसेर ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिन सकिने

काठमाडौं। वैदेशिक अध्ययनका लागि आवश्यक पर्ने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत प्राप्त गर्न सक्ने भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले सेवा पूर्ण रूपमा फेसलेस बनाउँदै अनलाइन प्रणालीमार्फत आवेदन र स्वीकृति प्रक्रिया सुरु गरेको हो।

यसका लागि एनओसी अनलाइन पोर्टललाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयू) सँग एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (API) मार्फत अन्तरआवद्ध गरिएको छ। त्रिविसँग वैशाख ४ गते सम्झौता सम्पन्न भएको हो भने केयूसँग यसअघि नै सम्झौता भइसकेको मन्त्रालयले जनाएको छ।

नयाँ प्रणाली लागू भएसँगै विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् र सम्पूर्ण प्रक्रिया पूरा भएपछि एनओसी प्रमाणपत्र आफैं डाउनलोड गरी प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको छ।

एनओसी शाखाका अनुसार प्रणालीलाई गृह मन्त्रालयको नागरिकता विवरण प्रणालीसँग पनि अन्तरआवद्ध गरिएको छ। यसले नागरिकताको विवरण र राष्ट्रिय परीक्षा बोर्डको रजिस्ट्रेसन तथा शैक्षिक विवरण स्वचालित रूपमा प्रमाणीकरण गर्न सहयोग पुर्‍याउनेछ। सो आधारमा धेरै अवस्थामा आवेदकलाई भौतिक रूपमा कार्यालय उपस्थित हुनुपर्ने आवश्यकता हट्नेछ।

तर स्नातकोत्तर वा सोभन्दा माथिल्लो अध्ययनका लागि आवेदन दिने विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयको प्रमाणपत्र अपलोड गर्नुपर्ने व्यवस्था रहेको छ। त्रिवि र केयूको प्रणालीसँग पूर्ण अन्तरआवद्धता नभएकाले केही अवस्थामा प्रमाणपत्र रुजु गर्न कार्यालय उपस्थित हुनुपर्ने अवस्था भने कायम रहनेछ।

यसैबीच, राजस्व भुक्तानीलाई पनि पूर्ण रूपमा डिजिटल बनाइएको छ। महालेखा नियन्त्रक कार्यालयको ‘रेभिन्यू इन्फरमेशन क्यासलेस म्यानेजमेन्ट सिस्टम’ सँग प्रणाली जोडिएपछि एनओसी शुल्क अनलाइनमार्फत नै भुक्तानी गर्न सकिने भएको छ।

स्वीकृत एनओसी प्रमाणपत्र आवेदकको प्रोफाइलबाट नै डाउनलोड गर्न सकिनेछ। प्रमाणपत्रमा राखिएको क्यूआर कोड स्क्यान गरी यसको प्रामाणिकता पुष्टि गर्न सकिने व्यवस्था पनि गरिएको छ।

एनओसी शाखाका अनुसार त्रिवि र केयू सँगको पूर्ण अन्तरआवद्धतापछि अधिकांश आवेदन प्रक्रियाहरू पूर्ण रूपमा फेसलेस हुनेछन्, जसले सेवा छिटो, पारदर्शी र सहज बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया