काठमाडौं । सरकारले इजरायलसहित चार देशका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ। इरान–पश्चिम एसिया क्षेत्रमा देखिएको सुरक्षा तनावका कारण अस्थायी रूपमा रोकिएको प्रक्रिया पुनः सुरु गरिएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३१ चैत २०८२ मा गरेको मन्त्रीस्तरीय निर्णय अनुसार इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति खुला गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
यसअघि इरान–इजरायल र अमेरिका तनावका कारण ती देशहरूमा रहेका नेपालीहरूको सुरक्षालाई ध्यानमा राख्दै १७ फागुन २०८२ मा पश्चिम एसिया तथा खाडी मुलुकहरूमा श्रम स्वीकृति रोकिएको थियो।
पछि ३ चैत २०८२ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि श्रम स्वीकृति खुला गरिएको थियो।इराकका हकमा भने ११ पुस २०८२ को निर्णयअनुसार नै प्रक्रिया यथावत् रहने मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको इमर्जेन्सी रेस्पोन्स टिम (ईआरटी) को सिफारिसका आधारमा बाँकी देशका लागि पनि पुनः श्रम स्वीकृति खुला गरिएको हो। सम्बन्धित देशको अवस्था सामान्य भएपछि मात्र थप निर्णय गरिने मन्त्रालयले स्पष्ट पारेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया