काठमाडौं । काठमाडौँ महानगरपालिकाले कार्यालय आउँदाजाँदा आलोपालो गाडी चलाउने ‘कार पुलिङ’ व्यवस्था कार्यान्वयनमा ल्याइएको छ । इन्धन कटौतीपछि कामपाले उपलब्ध गराएको सवारीसाधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन । इन्धन अभावबाट सिर्जना हुनसक्ने अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्ता निर्णय गरिएको उनको भनाइ छ ।
डङ्गोलले भनिन, “अहिले विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारीसाधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुनसक्छ । यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ ।”
कामपाले ४८ औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गरिसकेको छ । ‘कार पुलिङ’ कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने जाने अधिकारीहरूको समूह बनाइएको छ । यस समूहमा हुनेले आफूसँग भएको सवारीसाधन आलोपालो सञ्चालन गरेर आफू नजिकका अधिकारीलाई पनि ल्याउने लाने गर्नुपर्छ । यसो गर्दा कार्यालयमा आउने जाने सवारीसाधनको सङ्ख्या र इन्धनको प्रयोग घट्ने प्रमुख डङ्गोलको भनाइ छ ।
आर्थिकन्यूज
प्रतिक्रिया