एजेन्सी । मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीचको तनावका कारण विश्व ऊर्जा आपूर्ति शृंखलामा अनिश्चितता बढिरहेका बेला रुसले चीनको सम्भावित ऊर्जा अभाव पूर्ति गर्न आफू तयार रहेको सङ्केत दिएको छ।
विशेषगरी होर्मुज जलडमरूमध्यमार्फत हुने ढुवानी प्रभावित हुने जोखिमबीच मस्कोले आफूलाई वैकल्पिक ऊर्जा आपूर्तिकर्ताका रूपमा प्रस्तुत गरेको हो।
रुसका विदेशमन्त्री सर्गेई लाभरोभले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा रुससँग पर्याप्त ऊर्जा स्रोत रहेको र चीनसहित सहकार्य गर्न इच्छुक देशहरूको आवश्यकता पूरा गर्न सक्ने बताए। होर्मुज क्षेत्रको अवरोधले ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने विषयमा उठेको प्रश्नमा उनले रुस त्यसका लागि सक्षम रहेको दाबी गरे।
यसै क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चालु वर्षको पहिलो अर्धवार्षिकभित्र चीनको औपचारिक भ्रमण गर्ने तयारी भइरहेको जानकारी दिए। रूसी सरकारी समाचार एजेन्सी तासका अनुसार उक्त भ्रमणले दुई देशबीचको रणनीतिक साझेदारी थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी प्रतिबन्धका कारण मस्को र बेइजिङबीचको राजनीतिक तथा आर्थिक सहकार्य अझ गहिरिएको छ। पछिल्ला वर्षहरूमा ऊर्जा, व्यापार र कूटनीतिक क्षेत्रमा दुई देशबीच समन्वय तीव्र बनेको देखिन्छ।
चीनको दुईदिने भ्रमणका क्रममा लाभरोभले राष्ट्रपति सी जिनपिङसँग पनि भेटवार्ता गरे। भेटपछि उनले रुस–चीन सम्बन्धलाई “कुनै पनि चुनौती सामना गर्न सक्षम र स्थिर साझेदारी” का रूपमा वर्णन गरे। उनका अनुसार यो सहकार्यले अन्तर्राष्ट्रिय स्तरमा स्थायित्व कायम गर्न योगदान पुर्याइरहेको छ।
उनले विश्वका धेरै देशहरू द्वन्द्वभन्दा शान्ति र सहकार्य चाहिरहेको उल्लेख गर्दै रुस–चीन साझेदारीले विश्व सन्तुलनमा सकारात्मक भूमिका खेलिरहेको दाबी गरे।
लाभरोभको भ्रमण त्यस्तो समयमा भएको हो, जतिबेला चिनियाँ राष्ट्रपति सी जिनपिङले एकै सातामा भियतनामका नेता टो लाम र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसहित विभिन्न देशका उच्चस्तरीय नेताहरूसँग भेटवार्ता गरिरहेका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया