शीर्षकहरू

दीपेन्द्रको कप्तानीमा यूएईविरुद्ध टी-२० सिरिज खेल्ने टोली घोषणा, रोहित पौडेल टोली बाहिर

दीपेन्द्रको कप्तानीमा यूएईविरुद्ध टी-२० सिरिज खेल्ने टोली घोषणा, रोहित पौडेल टोली बाहिर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी यूएईविरुद्धको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि राष्ट्रिय टोली घोषणा गरेको छ । त्रिवि क्रिकेट मैदानमा वैशाख ६ र ७ गते हुने खेलका लागि दीपेन्द्रसिंह ऐरीलाई कप्तान तोकिएको छ ।

घोषित १५ सदस्यीय टोलीमा नियमित कप्तान रोहित पौडेल भने परेका छैनन् । यस्तै कुशल मल्ल र अर्जुन साउदले टी–२० टोलीमा पुनरागमन गरेका छन् । मल्लले यसअघि टी–२० विश्वकप एसिया छनोटपछि टोलीमा स्थान पाएका थिए भने साउदले सन् २०२२ पछि पुनः राष्ट्रिय टोलीमा फर्किएका हुन् ।

त्यस्तै सन्तोष यादव र हेमन्त धामीले पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । उनीहरू दुवैको यो डेब्यू अवसर हुनेछ ।

क्यानले यस शृंखलाका लागि दीपेन्द्र ऐरीलाई टी–२० कप्तान र रोहित पौडेललाई एकदिवसीय (ओडिआई) कप्तान तोकेको जनाएको छ ।

नेपालले यूएईसँगको टी–२० शृंखला आइसिसी मेन्स क्रिकेट विश्वकप लिग–२ अन्तर्गतका महत्वपूर्ण एकदिवसीय शृंखला अघि खेल्न लागेको हो । त्यसपछि नेपालले ओमान र यूएईसँग त्रिकोणात्मक ओडिआई शृंखला तथा अमेरिका र स्कटल्यान्डसँग अर्को शृंखला आयोजना गर्ने तयारी गरेको छ ।

नेपालको टी–२० टोली

दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शहाब आलम र शेर मल्ल रहेका छन् । रिजर्भ खेलाडीमा प्रतिश जीसी, नारायण जोशी र राशिद खान रहेका छन् ।

नेपाल र यूएईबीचका दुवै टी–२० खेल त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेपछि सुरु हुनेछ ।

null

प्रतिक्रिया