काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएई र ओमानमा हुने शृंखलाका लागि नेपालले अन्तिम १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा टोली तयार पारिएको हो ।
टोलीको उपकप्तानी दीपेन्द्रसिंह ऐरीले सम्हाल्ने छन् । टोलीमा नियमित सदस्यहरू सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, ललित राजवंशी लगायतका अनुभवी खेलाडीहरू समावेश छन्।
यसपटकको टोलीमा युवा ब्याटर अर्जुन कुमालले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शनपछि उनी राष्ट्रिय टोलीमा प्रवेश गर्न सफल भएका हुन् । यस्तै अनुभवी विकेटकिपर–ब्याटर विनोद भण्डारी पनि करिब तीन वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् ।
नेपालको १५ सदस्यीय टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन् । रिजर्भमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशन पाण्डे र देव खनाल रहेका छन् ।
नेपालले यूएईविरुद्ध वैशाख ६ र ७ गते टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ । त्यसपछि लिग–२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच त्रिकोणात्मक एकदिवसीय शृंखला वैशाख १२ देखि २२ गतेसम्म त्रिवि क्रिकेट मैदानमा आयोजना हुनेछ ।
त्यसपछि वैशाख २९ देखि जेठ ८ गतेसम्म नेपाल, अमेरिका र स्कटल्याण्डबीच अर्को लिग–२ शृंखला हुनेछ । शीर्ष दुई स्थानमा रहेका अमेरिका र स्कटल्याण्डसँगको प्रतिस्पर्धा नेपालका लागि महत्त्वपूर्ण मानिएको छ ।
हाल नेपाल लिग–२ अंक तालिकामा सातौँ स्थानमा छ । २० खेलबाट नेपालले ५ जित, १३ हार र २ खेल नतिजाविहीनसहित १२ अंक जोडेको छ। आगामी घरेलु शृंखलाको प्रदर्शन विश्वकप छनोट यात्राका लागि निर्णायक हुने अपेक्षा गरिएको छ ।

आर्थिकन्यूज
प्रतिक्रिया