काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा गरिएको संशोधनअनुसार नयाँ सर्किट ब्रेकर तथा मूल्य सीमा व्यवस्था आगामी सोमबार (वैशाख ७ गते) देखि लागू गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृत उक्त संशोधित व्यवस्था बजारलाई थप चलायमान र वास्तविक मूल्य निर्धारणतर्फ उन्मुख गराउने उद्देश्यले लागू गर्न लागिएको हो ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नयाँ व्यवस्था सोमबारदेखि औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ । उनका अनुसार बजारको संरचना सुधार र बढ्दो लगानीकर्ताको चापलाई व्यवस्थापन गर्न यो परिवर्तन गरिएको हो ।
नयाँ व्यवस्थाअनुसार अब सूचीकृत कम्पनीहरूको दैनिक मूल्य उतारचढाव सीमा (प्राइस लिमिट) १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ । यससँगै कुनै पनि कम्पनीको सेयर मूल्य एकै दिनमा अधिकतम १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ ।
यसैगरी, बजार खुल्नुअघि हुने प्री–ओपन सेसनमा पनि नयाँ व्यवस्था लागू गरिएको छ । अब उक्त सेसनमा सेयर मूल्य ५ प्रतिशतसम्म घटबढ हुन सक्नेछ, जुन यसअघि २ प्रतिशतमा सीमित थियो । यस परिवर्तनले बजार खुल्ने समयमा हुने मूल्य असन्तुलन घटाई वास्तविक मूल्य निर्धारणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेप्से सूचक (इन्डेक्स) का लागि पनि सर्किट ब्रेकर प्रणाली परिमार्जन गरिएको छ । नयाँ व्यवस्था अनुसार अब दुई तहको प्रणाली लागू हुनेछ ।
पहिलो तहमा, कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से सूचक ५ प्रतिशतले बढे वा घटेमा कारोबार १५ मिनेटका लागि स्थगित गरिनेछ । यसअघि यो सीमा ४ प्रतिशत थियो र कारोबार २० मिनेटका लागि रोकिँदै आएको थियो।
दोस्रो तहमा, कारोबार पुनः सुरु भएपछि यदि सूचक ८ प्रतिशतले थप बढे वा घटेमा सो दिनको बाँकी समयका लागि सम्पूर्ण कारोबार बन्द गरिनेछ । यसअघि ६ प्रतिशतको उतारचढावमा दिनभर कारोबार बन्द हुने व्यवस्था थियो ।
नेप्सेले संशोधित व्यवस्था लागू गर्न आवश्यक प्राविधिक तयारी पूरा गरिसकेको जनाएको छ । बजार सहभागीहरूको गतिविधि बढ्दै गएको अवस्थामा अन्तर्राष्ट्रिय अभ्याससँग मेल खाने गरी प्रणाली सुधार गरिएको नेप्सेको भनाइ छ ।
विश्लेषकहरूका अनुसार मूल्य सीमा १५ प्रतिशत पुर्याउँदा बजारमा अस्थिरता बढ्न सक्ने भए पनि यसले वास्तविक मूल्य खोज्न र तरलता वृद्धि गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । सोमबारदेखि लागू हुने यो नयाँ व्यवस्थाले पूँजी बजारमा नयाँ संरचनात्मक सुधारको सुरुवात गर्ने विश्वास लिइएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया