काठमाडौं। विश्वकै प्रमुख तेल ढुवानी मार्ग हर्मुज जलडमरु खुला रहने इरानको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। आपूर्ति अवरोधको चिन्ता कम भएसँगै लगानीकर्ताको मनोबल बढ्दा मूल्य घटेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ९८ डलरबाट घटेर करिब ९० डलरमा झरेको छ, जुन करिब ९ प्रतिशतको गिरावट हो। युद्धअघि करिब ७० डलर रहेको ब्रेन्ट मूल्य द्वन्द्व सुरु भएपछि ११५ डलरसम्म पुगेको थियो।
अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) क्रुडको मूल्य पनि ११.४५ प्रतिशतले घटेर प्रतिब्यारेल ८३.८५ डलरमा पुगेको छ। त्यस्तै मोर्बान क्रुडको मूल्य पनि करिब १० प्रतिशतले घटेर ९१ डलर आसपासमा झरेको छ।
अमेरिका, इजरायल र इरानबीचको तनावका कारण पछिल्लो समय तेल बजार अत्यन्त अस्थिर बन्दै आएको थियो। विशेषगरी मार्च महिनामा मूल्य करिब ५० प्रतिशतसम्म बढेको थियो। यद्यपि, अहिले मूल्य १०० डलरभन्दा तल झरे पनि अझै ९० डलर आसपासमै कायम छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानमा इरानी अधिकारीहरूसँग सम्भावित वार्ताको संकेत दिएका छन्, जसले बजारमा सकारात्मक अपेक्षा थपेको छ।
इजरायल–लेबनानबीच भएको १५ दिने युद्धविरामपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलडमरु पूर्ण रूपमा खुला रहने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले व्यावसायिक जहाजहरूको आवतजावत निर्बाध रहने स्पष्ट पारेका थिए।
हर्मुज जलडमरु विश्वको करिब ३० प्रतिशत तेल आपूर्ति हुने महत्वपूर्ण मार्ग भएकाले त्यहाँको स्थिरताले सीधै विश्व बजारमा प्रभाव पार्ने गर्छ। यसअघि सम्भावित नाकाबन्दी र अवरोधका कारण आपूर्ति संकटको त्रासले मूल्य आकासिएको थियो।
आर्थिकन्यूज
प्रतिक्रिया