शीर्षकहरू

त्रिभुवन विमानस्थल जेठ ४ सम्म दैनिक राति ७ घण्टा बन्द रहने

त्रिभुवन विमानस्थल जेठ ४ सम्म दैनिक राति ७ घण्टा बन्द रहने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्य तीव्र पार्न दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ ।

विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार आगामी जेठ ४ गतेसम्म प्रत्येक दिन राति ११ः४५ बजेदेखि बिहान ६ः३० बजेसम्म ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ सम्पन्न गर्न विमानस्थल बन्द रहने भएको हो ।

विमानस्थल कार्यालयद्वारा जारी सूचनामा निर्माण कार्य छिटो सम्पन्न गर्न यो निर्णय गरिएको उल्लेख छ। हाल धावनमार्ग छेउको ट्याक्सीवे क्षेत्रमा निर्माण कार्य भइरहेकाले सुरक्षाका कारण रातिको समयमा पूर्ण रूपमा उडान सञ्चालन रोक्न लागिएको जनाइएको छ ।

यस अवधिमा यात्रु तथा उडान व्यवस्थापनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै विमानस्थल कार्यालयले सबै हवाई सेवा प्रदायक कम्पनीहरूलाई आवश्यकताअनुसार आफ्नो उडान तथा अवतरण तालिका समायोजन गर्न आग्रह गरेको छ ।

नेपालको एक मात्र व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय यात्रु चाप बढ्दै गएकाले पूर्वाधार विस्तार र स्तरोन्नति आवश्यक देखिएको छ । यही आवश्यकतालाई ध्यानमा राख्दै रनवे, ट्याक्सीवे तथा टर्मिनल क्षेत्रको सुधार कार्य अघि बढाइएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया