काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार दोस्रो दिन घटेर बन्द भएको छ। मंगलबार नेप्से १७.९१ अंकले घट्दै २८०७.३१ विन्दुमा झरेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ३.०७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले ओरालो लागेको छ।
परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार ५ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३४७ कम्पनीका १ करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर ९५ हजार ८०० पटक किनबेच हुँदा ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
१३ उपसमूहमध्ये होटल तथा पर्यटन समूह मात्र १.१६ प्रतिशतले बढ्दा बाँकी १२ उपसमूहमा गिरावट देखिएको छ। अन्य समूह १.२७ प्रतिशतले घट्दा जलविद्युत र वित्त उपसमूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।
कारोबारका क्रममा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्टको शेयर मूल्य सकारात्मक सर्किट तहमा पुगेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर करिब १५ प्रतिशतले बढ्दा एशियन हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर मूल्य पनि उल्लेख्य रूपमा उकालो लागेको छ।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको ३७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो। रिलायन्स स्पिनिङ मिल्स र नेसनल हाइड्रोपावर कम्पनीको कारोबार पनि उल्लेख्य रह्यो। यस दिन दोल्ती पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ८.७१ प्रतिशतले घटेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया