काठमाडौं। ललितपुरको गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई आइतबार इमाडोलबाट नियन्त्रणमा लिइएको हो।
परिसरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार पाठकमाथि सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ। हालसम्म प्राप्त उजुरीका आधारमा चार करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको प्रारम्भिक निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ।
‘अहिलेसम्म परेको जाहेरीका आधारमा करिब चार करोड रुपैयाँ बिगो देखिएको छ, तर थप पीडितहरू सम्पर्कमा आइरहेका छन्, त्यसैले वास्तविक रकम अझ बढ्न सक्ने देखिन्छ,’ एसपी मिश्रले भने।
प्रहरीका अनुसार सहकारीमा बचत गरेका सदस्यहरूले आफ्नो रकम फिर्ता नपाएको भन्दै उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको हो। प्रारम्भिक छानबिनमा संस्थाभित्रैबाट अनियमितता भएको आशंका गरिएको छ।
यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। साथै, सहकारीको वित्तीय कारोबार, कागजात र जिम्मेवार पदाधिकारीहरूको भूमिकाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
प्रहरीले पीडितहरूलाई आवश्यक प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ। सहकारी क्षेत्रमै बढ्दै गएका यस्ता घटनाले बचतकर्ताको विश्वासमा असर परेको भन्दै नियामक निकायको निगरानी थप कडा बनाउनुपर्ने आवाज पनि उठिरहेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया