वासिङ्टन/तेहरान । इरानको आणविक संरचनामाथि भएको अमेरिकी सैन्य आक्रमणपछि त्यहाँको समृद्ध युरेनियम पुनःप्राप्ति जटिल र लामो प्रक्रिया हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। उनको अभिव्यक्तिले अमेरिका–इरानबीच जारी आणविक तनावलाई थप गहिरो बनाउने संकेत दिएको छ।
ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’मार्फत ‘अपरेसन मिडनाइट ह्यामर’लाई इरानका आणविक स्थलहरूको पूर्ण विनाशका रूपमा चित्रण गरेका छन्। उनका अनुसार ती संरचना ध्वस्त भएपछि त्यहाँ रहेका सामग्री पुनः उत्खनन गर्नु अब “लामो र गाह्रो” हुने अवस्था बनेको छ।
अमेरिकी पक्षले इरानको समृद्ध युरेनियमलाई जनाउन ‘आणविक धुलो’ भन्ने शब्द प्रयोग गर्दै आएको छ, जसले तेहरानमाथि लगाइँदै आएको आणविक हतियार विकाससम्बन्धी आरोपलाई संकेत गर्छ। ट्रम्पले यसअघि पनि इरानको युरेनियम भण्डार अन्ततः अमेरिकी नियन्त्रणमा आउने दाबी गर्दै आएका छन्।
तर इरानले भने आफ्नो युरेनियम भण्डार कुनै पनि अवस्थामा हस्तान्तरण नगर्ने स्पष्ट पारिसकेको छ। इरानी अधिकारीहरूले उक्त विषय वार्ताको विकल्प नै नभएको बताएका छन्।
इरानको आणविक कार्यक्रमलाई इजरायलले आफ्नो अस्तित्वकै खतरा मान्दै आएको छ। यही सन्दर्भमा अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेका थिए, जसले क्षेत्रीय तनावलाई तीव्र बनाएको थियो।
इजरायली अधिकारीहरूका अनुसार गत वर्ष जुनमा १२ दिनसम्म चलेको युद्धपछि इरानले आफ्नो आणविक कार्यक्रमलाई थप तीव्र बनाउने प्रयास गरेको थियो। उक्त युद्ध इजरायलको पहलमा सुरु भएको थियो र अमेरिकाले पनि सहभागिता जनाउँदै इरानका तीन प्रमुख आणविक केन्द्रमा आक्रमण गरेको थियो।
हालको अवस्था हेर्दा इरानको आणविक कार्यक्रम, युरेनियम भण्डार र क्षेत्रीय सुरक्षा सन्तुलनलाई लिएर अमेरिका–इरानबीचको रणनीतिक द्वन्द्व अझ लम्बिने संकेत देखिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया