शीर्षकहरू

मन्त्रिपरिषद्का तीन निर्णय : एडीबीबाट १७.२५ अर्ब ऋण लिने, प्रहरी प्रतिष्ठानको जग्गा फिर्ता

मन्त्रिपरिषद्का तीन निर्णय : एडीबीबाट १७.२५ अर्ब ऋण लिने, प्रहरी प्रतिष्ठानको जग्गा फिर्ता

काठमाडौं। मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पुनः प्रहरीकै प्रयोगमा रहने गरी दिने निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार महाराजगञ्जस्थित प्रतिष्ठानको १ सय १४ रोपनी ३ आना जग्गा पुनः प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय बिहीबार बसेको बैठकले गरेको हो।

यसअघि २०७५ भदौ १ गतेको मन्त्रिपरिषद् निर्णयमार्फत उक्त जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय गरिएको थियो। नयाँ निर्णयसँगै उक्त व्यवस्था उल्टिएको छ।

यसैगरी, बैठकले इन्टरग्रेटेड वाटर सप्लाइ तथा सेवेरेज व्यवस्थापन परियोजनाका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर  (१७ अर्ब २५ करोड) सहुलियतपूर्ण ऋणसम्बन्धी वित्तीय सम्झौता टुंग्याउन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरिनेछ।

त्यसैगरी, सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधि प्रणालीहरूको अवस्था अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया