काठमाडौं । पछिल्लो समय नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई संकटग्रस्त घोषणा गर्न लागेको छ भन्ने चर्चा चलेको थियो । कम्पनीलाई संकटग्रस्त घोषणा गरेर प्राधिकरणले टेकओभर गर्छ भन्ने चर्चा चल्यो ।
यस विषयमा प्राधिकरणमा पनि छलफल भएको थियो । टेकओभरका लागि कसरी अघि बढ्ने भन्ने बारेमा प्राधिकरणमा निकै बहस भएको थियो । चैतको अन्तिम सातासम्म जसरी पनि संकटग्रस्त घोषणा गर्ने र टेकओभर गर्ने मुडमा रहेको प्राधिकरण वैशाख लागेसँगै युटर्न भएको थियाे ।
खासगरी, हिमालयन रिका प्रमोटर दीपक भट्ट सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परे । उनले हिमालयन रिको २ अर्ब ७३ करोड रुपैयाँ दुरुपयोग गरेको आरोप लागेको छ । यससँगै सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानका लागि शंकर ग्रुपका सुलभ अग्रवाल सहितका व्यक्ति पक्राउ परे ।
यससँगै कम्पनीका सञ्चालक समितिका सदस्यहरूले भटाभट राजीनामा दिन थाले । अध्यक्ष शेखर गोल्छाले सबैभन्दा पहिला राजीनामा दिएर कम्पनीबाट बाहिरएका थिए । बाँकी रहेका केही सञ्चालक सदस्यलाई पनि राजीनामा दिन सरकारी निकायबाट दबाब आएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाेन गरेर राजीनामा दिन केही सञ्चालकलाई दबाब दिएकाे थियाे । अन्य निकायबाट पनि प्रेसर आएपछि बोर्डका सबै सदस्यले राजीनामा दिएर बाहिरिन थालेपछि प्राधिकरण एकटिभ भएको थियो ।
बोर्ड नभएको मौका छोपेर टेकओर गर्ने मुड प्राधिकरणले बनाएको थियो । उसो त प्राधिकरणलाई पनि अख्तियार र सम्पत्ति शुद्धीकरण विभागको प्रेसर थियो । जसमा केही व्यवसायीक घरना पनि हिमालयन रिलाई टेकओभर गर्नु पर्ने पक्षमा थिए । त्यससँगै प्राधिकरणले अनौपचारिक रुपमा टेकभोर गर्ने निर्णय नै गर्यो । त्यो भन्दा पहिला हिमालयन रिका उच्च पदस्थ कर्मचारीलाई हटाउने निर्णय भयो । सोही क्रममा कम्पनीको सीईओ उपासना पौडेल सहित ४ जना उच्च व्यवस्थापकलाई प्राधिकरणले 'किन निलम्बन नगर्ने ?' भन्दै स्पष्टीकरण सोधेको थियो ।
तर, यसैबिचमा कम्पनीका प्रोमाेटरहरुले नयाँ सञ्चालक पठाएपछि सञ्चालक समिति गठन भयो । सो समितिका अध्यक्षमा कुमार निरौला चयन भए । अध्यक्ष बनेका निरौला, कम्पनीका डीसीईओ मुकेश कुमार कपुर सहित केही उच्च पदका कर्मचारीहरू वार्ताका लागि प्राधिकरण गए । यसरी प्राधिकरणसँग छलफलमा अध्यक्ष निरौलाले कम्पनीलाई संकटग्रस्त घोषणा गर्नुपर्ने अवस्था नरहेकाे भन्दै घाेषणा नगर्न आग्रह गरेका थिए । उनले हालसम्म जे जे कमजोरी रहेको भएपनि आफुले ति सबै कमजोरी सुधार गर्ने प्रतिवद्धता जनाएका थिए ।
तर, निरौलाले यसरी अनुरोध गर्नुअघि नै प्राधिकरणले टेकओभर गर्ने मुडबाट पछि हटेको स्रतको भनाई छ । प्राधिकरणले टेकओभर मुडबाट पछि हडनुका कारण धेरै छन् । त्यसमध्येको एक कारण हो हिमालयन रिलाई आफुले टेकओभर गरेर सञ्चालन गर्न नसक्नु ।
हिमालयन रिले विश्व बजारमा गएर व्यापार गर्ने हो । विश्वका बीमा कम्पनी, पुनर्बीमा कम्पनी, पुनर्बीमा दलाल मार्फत व्यापार लिने हो । त्यसका लागि हिमालयनले विश्व बजारमा आफ्ना दर्जन बढी कर्मचारी खटाएको छ । ४० देशबाट बिजनेस ल्याएकाे छ । यसका लागि अन्तराष्ट्रिय स्तरका बीमक, पुनर्बीमक र पुनर्बीमा ब्रोकरसँग राम्रो सम्बन्ध हुनु जरुरी हुन्छ । हिमालयन रिले त्यस प्रकारको सम्बन्ध बनाई सकेको अवस्था छ ।
विश्व बजारका बीमक, पुनर्बीमक र पुनर्बीमा ब्रोकरसँग राम्रो सम्बन्ध नबनाई रिइन्स्योरेन्सको व्यापार पाउन सकिन्दैन । यो यथार्थलाई प्राधिकरणले राम्रै सँग बुझेको छ । आफुले हिमालयन रिलाई टेकओर गरे पनि विश्व बजारमा व्यापार गर्न नसकिने यथार्थ प्राधिकरणलाई अवगत नै छ । यदि टेकओभर गरेर कम्पनीलाई सुधार गर्नुको सट्टामा कोल्याप्स हुने स्थिति आयो भने आफ्नो क्षमता र नियामकीय भुमिका प्रति नै प्रश्न उठ्ने भएकाले पनि टेकओभर गर्ने सोचबाट कम्पनी पछि हटेको हो ।
कम्पनीका अध्यक्ष सहितको टोलसँगको छलफलपछि प्राधिकरणले अहिले दैनिक रुपमा हिमालयन रिमा गएर निरीक्षण भने गरिरहेको छ । प्राधिकरणबाट ३/४ जनाको टोली हरेक दिन कम्पनीमा पुग्छन् । कम्पनीका कर्मचारीहरूले काम गरेको हेर्छन् र फर्किन्छन् । नियमित निरीक्षणका लागि कम्पनीमा टोली खटाएको प्राधिकरणले बताए पनि त्यो टोलीको क्रियाकलाप हेर्दा निरीक्षणमा गएको जस्तो देखिंदैन ।
कम्पनीमा पुगेका टोलीहरूले कर्मचारीले काम गरेको हेरेर फर्किन्छन् । के विषयमा आउनु भएको भनेर कम्पनीले सोध्दा उनीहरुले भन्छन्, 'तपाइहरुले कसरी काम गर्नु हुँदो रहेछ भनेर हेर्न आएको ।’ पछिल्लो ४ कार्य दिनदेखि प्राधिकरणको टोली दैनिक रुपमा कम्पनीमा पुगेर कर्मचारीले काम गरेको हेरी रहेको छ ।
लक्ष्मण लम्साल

प्रतिक्रिया