काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले आजदेखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर ०.५ कित्ताका दरले ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । जसको कुल मूल्य ५३ करोड २७ लाख रुपैयाँभन्दा बढी रहेको छ।
हकप्रद प्रयोजनका लागि कम्पनीले चैत १० गते बुकक्लोज गरेको थियो। त्यसअनुसार चैत ९ गतेसम्म कायम शेयरधनीहरूले जेठ ६ गतेसम्म आवेदन दिन सक्नेछन्।
केयर रेटिङ नेपालले कम्पनीलाई CARE-NP BB- इस्यूअर रेटिङ प्रदान गरेको छ । जसले वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। हकप्रदको बिक्री प्रबन्धक Global IME Capital Limited रहेको छ।
हाल १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको पूँजी हकप्रदपछि १ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ पुग्नेछ। हकप्रदबाट उठ्ने रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको सहवित्तीयकरण ऋण भुक्तानीमा प्रयोग गरिने कम्पनीले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया