काठमाडौं । मेटलाइफ नेपालले कर्णालीको दुर्गम जिल्ला जुम्लामा सेवा विस्तार गर्दै बीमा पहुँच बढाउने र स्थानीय समुदायमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहल सुरु गरेको छ। कम्पनीले जुम्लामा एजेन्सी कार्यालय स्थापना गरी औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
नयाँ कार्यालयमार्फत स्थानीय बासिन्दालाई व्यक्तिगत ग्राहक सेवा, बीमा सम्बन्धी परामर्श तथा वित्तीय सचेतना कार्यक्रम उपलब्ध गराइने कम्पनीले जनाएको छ। सीमित पूर्वाधार र वित्तीय सेवामा पहुँचको अभाव झेल्दै आएका जुम्लावासीलाई लक्षित गर्दै यस्तो पहल गरिएको हो। यसले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने अपेक्षा पनि गरिएको छ।
समुदायसँगको सहकार्यलाई बलियो बनाउने क्रममा मेटलाइफ नेपालले सूर्य सामाजिक सेवा समाजसँग मिलेर दुई विद्यालयमा स्मार्ट बोर्ड उपलब्ध गराएको छ। चन्दननाथ उच्च माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा हस्तान्तरण गरिएको उक्त प्रविधिले शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी र अन्तरक्रियात्मक बनाउने विश्वास लिइएको छ।
कम्पनीले स्थानीय युवालाई लक्षित गरी बीमा सचेतना कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ, जसले दीर्घकालीन वित्तीय योजना बनाउन र जिम्मेवार आर्थिक व्यवहार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले दुर्गम क्षेत्रसम्म वित्तीय सुरक्षा विस्तार गर्नु कम्पनीको प्राथमिकता रहेको उल्लेख गर्दै बीमा पहुँचसँगै शिक्षा र चेतनामा लगानी गर्ने प्रतिबद्धता दोहोर्याएका थिए।
मेटलाइफ नेपाल सन् २००१ देखि नेपालमा सञ्चालनमा रहँदै जीवन, स्वास्थ्य तथा सामूहिक बीमा सेवा प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय वित्तीय सेवा प्रदायक कम्पनीको शाखा हो।
आर्थिकन्यूज
प्रतिक्रिया