काठमाडौँ। नेपाल राष्ट्रिय क्रिकेट टोलीका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोली विरुद्ध नेपालले २९० रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनायो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट १०० रनको शतकीय इनिङ्स खेले। उनले ९४ बलमा १३ चौका र १ छक्का प्रहार गरे। योसँगै उनी एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतक बनाउने नेपालका दोस्रो खेलाडी बनेका छन्। यसअघि रोहित पौडेलले पनि दुई शतक बनाएका छन्।
दीपेन्द्रले गुलशन झासँग छैटौं विकेटका लागि महत्वपूर्ण १०२ रनको साझेदारी गरे। गुलशन झाले ३८ बलमा ४४ रन बनाउँदै टोलीलाई मजबुत अवस्थामा पुर्याए। दुवै खेलाडी इनिङ्सको अन्तिम बलमा आउट भए।
लामो समयपछि टोलीमा फर्किएका विनोद भण्डारीले ५६ रनको अर्धशतकीय इनिङ्स खेले। ३६ वर्षे उनले ७९ बलमा ७ चौका प्रहार गर्दै नेपालका लागि सबैभन्दा बढी उमेरमा अर्धशतक बनाउने खेलाडी बने।
कप्तान रोहित पौडेलले ३९ रनको योगदान दिए भने आरिफ शेख ११ रनमा आउट भए। डेब्यु खेल खेलिरहेका अर्जुन कुमालले ११ रन बनाए।
यूएईका लागि जुनैद सिद्दीकी र अजय कुमारले २–२ विकेट लिए। प्रारम्भिक दबाबपछि नेपालले मध्यमक्रममा राम्रो पुनरागमन गर्दै प्रतिस्पर्धात्मक लक्ष्य खडा गरेको हो।

आर्थिकन्यूज
प्रतिक्रिया